पुष २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर झोले’ले आफ्नो प्रचार-प्रसार सुरु गरेको छ । प्रचारलाई आक्रामक बनाउन फिल्म निर्माण टीमले कभर भिडियो कम्पिटिसन अगाडि सारेको छ । केही समय अगाडि युट्युबमा सार्वजनिक भएको ‘ओखती’ बोलको गीतलाई डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आव्हान गरिएको छ ।
पुष २३ गते (जनवरी ७)मा विजेता घोषणा हुने प्रतिस्पर्धाको लागि सोमवारदेखि नै कभर भिडियो पठाउन सकिने निर्माण पक्षले बताएको छ । जो कोही इच्छुकले कभर भिडियो बनाएर पुष २१ गते (जनवरी ५) सम्म (info@highlightsnepal.com) मा मेल गरेर भाग लिन सक्नेछन् ।
यो प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।
रामबाबु गुरुङको कथा र निर्देशन रहेको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको फिल्ममा रवि न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ ।