आज:  | Mon, 15, Apr, 2024

‘प्याड म्यान’ र ‘पद्मावत’ का कारण ‘ह्याप्पी डेज’ स्थगित

२०७४, २५ पुष मंगलवार १४:२९ मा प्रकाशित ( ६ साल अघि) ४२३३७ पाठक संख्या

आउदै गरेको माघ १२ गते प्रदर्शनमा आउने भनिएको प्रियंका कार्की र दयाहाङ राईको अभिनय रहेको फिल्म ‘ह्याप्पी डेज’ को रिलिज डेट स्थगित भएको छ। ‘ह्याप्पी डेज’ रिलिज हुने मितिभन्दा एक दिन अघि बलिउडका दुई ठूला चलचित्र रिलिज हुने भएकाले ‘ह्याप्पी डेज’ को प्रदर्शन मिति पछि सारेको हो।

माघ ११ (जनवरी २५) गतेका दिन बलिउडका बहुप्रतिक्षित चलचित्र ‘पद्मावत’ र ‘प्याड म्यान’ प्रदर्शन हुँदैछ। मंसिर १५ (डिसेम्बर १) गते नै प्रदर्शनमा आउन पर्ने संजयलिला भन्सालीको बहुप्रतिक्षित चलचित्र ‘पद्मावती’ कुनै कारणवश सेन्सर बोर्डले चलचित्रको नाम ‘पद्मावत’ मा परिवर्तन नगरे प्रदर्शनको अनुमति नदिने भनिएपछि निर्माण पक्षले चलचित्रको नाम ‘पद्मावत” मा परिणत गरेका हुन्। त्यसकारण ‘पद्मावत’ तोकिएको मितिभन्दा धेरै पछि प्रदर्शनमा आउन लागेको हो। त्यसैगरी बलिउडका खिलाडी अक्षय कुमार अभिनित ‘प्याड म्यान’ पनि सोही दिन प्रदर्शनमा आउने भएको छ।

यसअघि पनि बलिउड चलचित्रले गर्दा निर्देशक मिलन चाम्सको निर्देशनमा रहेको ‘लिलिबिली’ को मिति सार्न परेको थियो। नेपाली दर्शक बलिउड चलचित्रतर्फ बढी आकर्षक हुने भएकाले बलिउडले नै बढी मात्रामा दर्शक बटुल्ने गरेको हुन्छ। यसरी बलिउड र कलिउड चलचित्र एकै दिन प्रदर्शन गर्दा नेपाली चलचित्रलाई नकरात्मक असर पर्ने हुँदा निर्माण टोलीले ‘ह्याप्पी डेज’ स्थगित गरेका हुन्।

मिलन चाम्सको निर्देशनमा बनेको ‘ह्याप्पी डेज’ को ट्रेलर पौष ९ गते नै सार्वजनिक भएको थियो र दर्शकबाट राम्रै प्रतिक्रिया आएका थिए र आउदै पनि छन्। निर्माण टोलीले ‘ह्याप्पी डेज’ को नयाँ प्रदर्शन मिति तय भने गरिसकेका छैनन् तर चाँडै घोषणा गर्ने बताएका छन।

खबर एक्सप्रेस