आज:  | Thu, 28, Mar, 2024

कृष ४ को प्रदर्शन मिति बाहिरियो: ऋतिक रोशनको जन्मदिनमा ऋतिकका फ्यानलाई राकेश रोशनको उपहार

२०७४, २७ पुष बिहीबार ०३:५३ मा प्रकाशित ( ६ साल अघि) ४३९८१ पाठक संख्या

ऋतिक रोशनको फ्यानको लागि आज निकै खुशीको दिन रहेको छ। आज मिति १० जनवरीको दिन भारतिय अभिनेता ऋतिक रोशनको जन्मदिन परेको हुँदा उनका फ्यान यत्तिकै खुशी थिए, त्यही माथि उनका पिता राकेश रोशनले ऋतिकको नयाँ बहुप्रतिक्षित चलचित्र ‘कृष ४’ को प्रदर्शन मिति तय गरेको हुँदा ऋतिकका फ्यानलाई केकमा चेरी हाले झै भएको छ।

ऋतिक रोशनको ४४ औँ जन्मदिनमा उनका पिता राकेश रोशनले ट्वीटर मार्फत ऋतिकलाई जन्मदिनको शुभकामना दिदै ‘कृष ४’ २०२० सालको क्रिस्टमसमा रिलिज हुने बताए। राकेश रोशन, ऋतिक रोशनका पिता मात्र नभई पहिले दुई ‘कृष’ चलचित्रहरुका निर्माता र निर्देशक पनि हुन् र यो चलचित्र पनि उनकै निर्देशनमा हुनेछ।

‘कृष’ श्रृंखला ऋतिक र राकेश रोशनको ‘कोइ… मिल गया’ को सिक्वेलमा बन्दै गएको हो। ‘कोइ… मिल गया’ २००३ साल मा प्रदर्शन गरिएको थियो र निकै सफल रहेको थियो। सो चलचित्रमा ऋतिक रोशन र प्रिती जिन्टा मुख्य भुमिकामा रहेका थिए।

पहिलो ‘कृष’ चलचित्र २००६ मा प्रदर्शन गरिएको थियो भने त्यसको दोस्रो श्रृंखला, ‘कृष ३’ २०१३ मा रिलिज भएको थियो। दुवै चलचित्रमा प्रियङ्का चोपडा र ऋतिक रोशन मुख्य भुमिकामा रहेका थिए। ‘कृष’ मा नकरात्मक भूमिकामा नासिरुद्दीन शाह र ‘कृष ३’ मा विवेक अोबेरोय थियो।

राकेश रोशनले स्क्रिप्टमा काम गरिरहेको धेरै भइसकेको छ, उनको पछिल्लो ट्वीट् हेर्दा चलचित्रको काम चाँडै सुरु हुने देखिन्छ। भनाई अनुसार ऋतिकले यसपाली नायक र खलनायक दुवैको भूमिका आफैले निभाउने भनिएको छ। ‘कृष ४’ को नायिका भने अझै निश्चित भएको छेैन।

खबर एक्सप्रेस