Aku chinta_
केही फिल्ममा अभिनय गर्ने, प्रचारबाजी गर्ने अनि कसोकसो ‘सेटिङ’ मिलाएर अमेरिका पस्ने र उतै हराउने, पछिल्लो समय कलाकारितामा देखिएको प्रमुख ‘दृश्य’ हो । अझ पछिल्लो समय त नेपालबाटै अमेरिकाको ग्रिनकार्ड हासिल गरेका कलाकर्मी थुप्रै छन् ।
यहीँबाट अधिक नक्कली काजगातको भरमा ग्रिनकार्ड ‘अप्लाई’ गर्ने र आफ्नो दुनो सोझ्याउनेहरू त झन् बग्रेल्ती छन् । तर यहाँ कुरा गर्न लागिएको हो, एक समय ह्वात्तै चर्चामा आएका र एकाएक ‘हराएका’ केही हिरोइनको ।
रञ्जना शर्माले टेलिशृंखला ‘जानकी’मा अभिनयसँगै सोही सिरियलका निर्देशक श्याम भट्टराईसँग प्रेम अनि बिहे गरिन् । बिहेपछि श्यामले आफ्ना दुवै फिल्म ‘मर्यादा’ र ‘मौसम’मा पत्नी रञ्जनालाई नै हिरोइन लिए । हिरोइन बन्नुअघि नै दीपक रायमाझी निर्देशित केही सिरियलमा चरित्र अभिनेत्रीका रूपमा अभिनय गरेकी रञ्जनाको फिल्मी करिअर उँभो लाग्न सकेन ।
एकातिर पति श्यामसँग दिनहुँजसो विवाद हुने, अर्काेतिर हातमा फिल्म पर्न मुस्किल । त्यसपछि उनले अमेरिकाको बाटो तय गरिन् । सांस्कृतिक कार्यक्रमको बहानामा अमेरिका पुगेकी रञ्जना उतै बसिन् । केही समयअघि काठमाडौं आएर फर्किएकी रञ्जना अमेरिकामै सेटल भएकी छिन् । पत्नी अमेरिका गएर आफूलाई तान्ने आशमा बसेका श्यामले काठमाडौंमा धेरै वर्ष एक्लो जीवन बिताउनुपर्यो । रेखा थापाले ‘हिम्मतवाली’को निर्देशकबाट हटाएपछि केही समय उनी फिल्मकर्मबाटै ओझेलमा बसे ।
एकाएक खबर आयो, श्याम अमेरिका उँडे । पत्नीले वास्ता नगरेपछि आफ्नै पहलमा ०७१ को अन्त्यतिर अमेरिका छिरेका श्याम उतै रमाएका छन् । केही दिनअघि उनले आफू र रञ्जनाबीच पति–पत्नीको सम्बन्ध टुंगिएको आशयको स्टाटस पोस्ट गरेका थिए । श्याम अब छिट्टै नै दोस्रो बिहे
गर्ने चक्करमा रहेको उनका निकट मित्रहरूले बताएका छन् ।‘हो यही माया हो’ फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी जिया केसीले त्यतिवेला राम्रै चर्चा पाएकी थिइन् । तर, त्यसपछि उनले यौनजन्य दृश्य र संवादयुक्त ‘जिगलो’, ‘रिङरोड’, ‘बर्बाद’, ‘एटिएम’, ‘रङ वे’लगायतका फिल्ममा अभिनय गरिन् । जसकारण उनले दर्शक, फिल्मकर्मी मात्रै होइन, मिडियाबाट समेत चर्काे आलोचना खेप्नुपर्यो ।
यद्यपि, भुवन र जियाले सामाजिक रूपमा बिहे भने गरेका छैनन् । जियामा फिल्म अभिनय इच्छा अझै बाँकी छ । प्रेमी भुवन आफैंले त उनलाई आफ्नो फिल्ममा अभिनय गराउँदैनन्, अरू कसले जियालाई अफर गर्नू ? जियाले कलाकारिताप्रतिको आफ्नो इच्छालाई दबाएर राख्नुपरेको उनका निकटवर्तीहरू बताउँछन् ।
जियासँगै एटिएम फिल्मबाट चर्चामा आएकी अर्की हिरोइन सोनिया शर्मा भने गृहस्थ जीवनमा व्यस्त छिन् । अभिनेता प्रज्वल गिरीसँग बिहे गरेर एक छोरीकी आमा बनिसकेकी सोनियाले पछिल्लो समय पति प्रज्वलका साथ एउटा फिल्ममा अभिनय गरेकी छिन् ।
प्रज्वलले अभिनयप्रतिको आफ्नो चाहना पूरा गर्न सहयोग गरेको सोनियाको कथन छ । सोनियाले ‘ढुंगेयुग’, ‘करामत’, ‘छल’लगायतका फिल्ममा पनि अभिनय गरेकी छिन् । ‘दुलही रानी’ फिल्मबाट ठूलो पर्दामा देखिएकी सविना कार्कीलाई पनि एटिएमले चर्चामा ल्यायो । तर, उनले त्यसपछि पनि अभिनयलाई निरन्तरता दिइरहेकी छिन् ।
सविनाले ‘वान साइड लभ’, ‘लाटी’, ‘सरप्राइस’, ‘द फेमस’, ‘पानीमान्छे’लगायतका फिल्ममा अभिनय गरेकी छिन् । फिल्मसँगै उनी म्युजिक भिडियो अभिनयमा पनि निरन्तर छिन् । गायक हेमन्त शर्माको ‘आउँदै गर मालती’ बोलको गीतको भिडियोबाट चर्चामा आएकी शशि खड्काले उकेश दाहालका दुई फिल्म ‘पल पलमा’ र ‘किन किन’ अनि राजु गिरीको ‘चन्द्रावती’ फिल्ममा अभिनय गरिन् ।
तर, हिरोइनका रूपमा उनको करिअरले उचाइ लिन सकेन । केही समयअघि देखि उनी म्युजिक भिडियोमा समेत देखिएकी छैनन् । सोनिया केसी चर्चामा आइन्, ‘सिलसिला’ फिल्मबाट । सो फिल्ममा उनले अभिनेता राज तिमिल्सिनासँग चुम्बन दृश्य दिइन् l
फिल्म सुपरहिट भयो । तर, सोनियाको हातमा अपेक्षित फिल्म भने परेनन् । सोनियाले राजसँगै अर्काे फिल्म ‘राज भाइ’मा पनि चुम्बन दृश्य दिइन् । उनले ‘म बिर्सूं कसरी’, ‘तिम्रो घर मेरो ससुराली’, ‘विरासत’लगायतका फिल्ममा अभिनय गरिन् । तर, कुनै फाइदा भएन । त्यसपछि उनी बिहे गरेर घरजममा रमाइएकी छिन् ।
झन्डै ८० वटा फिल्ममा अभिनय गरेकी रेजिना उप्रेतीले भने बिहेपछि कलाकारिता यात्रा अघि बढाउन सकिनन् । तीन वर्षअघि बिहे गरेकी रेजिना एक छोरीकी आमा बनिसकेकी छिन् । उनी तत्काल अभिनयमा फर्किने सम्भावना न्यून छ ।
अर्की अभिनेत्री सञ्चिता लुइँटेलले भने बिहे गरेर आमा बनिसकेपछि पनि कलाकारितालाई अघि बढाइरहेकी छिन् । निखिल उप्रेतीसँग बिहे गरेपछि दुई सन्तानकी माता बनेकी सञ्चिताले ‘नाइँ नभन्नू ल–३’बाट ‘कमब्याक’ गरिन् । त्यसपछि उनले ‘राधा’, ‘लीला’, ‘आरोप’, ‘सुक्का माना घिउ’, ‘गुनगुन’लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् ।
उनी अझै केही वर्ष हिरोइनको रूपमै आफूलाई ‘बरकरार’ राख्न चाहन्छिन् । ‘माझीदाइ’, ‘अध्याय’लगायतका फिल्ममा अभिनय गरेकी सिम्पल खनालले पनि हिरोइनका रूपमा आफूलाई जमाउन सकिनन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी उनले दुई वर्षअघि नदिम नामका विदेशी युवकसँग बिहे गरिन् । उनी पुनः अभिनयमा फर्किने सम्भावना देखिँदैन ।
कृष्टि मैनाली, जल शाह, पूजा चन्दलगायत हिरोइन अमेरिका उडेर उतै घरजममा रमाए । गत वर्ष सांस्कृतिक कार्यक्रमका लागि भनेर अमेरिका उडेकी नन्दिता केसी पनि अमेरिकामा संघर्षरत छिन् ।
‘इन्द्रेणी’, ‘त्रिशूल’, ‘हामी तीन भाइ’, ‘भगवान् सबैको’, ‘तिमी, मात्र तिमी’, ‘कैफियत’लगायतका झन्डै तीन दर्जन फिल्ममा अभिनय गरेकी नन्दिताले पनि आफ्नो करिअर उँचो बनाउन सकिनन् । उनी तत्काल नेपाल फर्किने सोचमा नभएको उनका निकटहरू बताउँछन् । पतिका साथ अमेरिका पुगेकी ऋचा घिमिरे र अरुणिमा लम्साल त्यहीँ रमाइरहेका छन् । एक छोरीकी आमा अरुणिमा पति अमित अर्यालसँग छुट्टिसकेकी छिन् ।
एक समयकी अधिक व्यस्त र सफल हिरोइन निरुता सिंहलाई दर्शकले पर्दामा देख्न नपाएको धेरै भइसक्यो । उनी अभिनीत पछिल्ला फिल्म ‘मलाई मन प¥यो’ र ‘द गेम’ असफल भए । त्यसपछि उनी मुम्बई बस्न थालेकी छिन् । मुम्बईमा उनले इन्टेरियर डिजाइनिङको काम गर्ने बताइन्छ । यद्यपि, निरुतालाई पुनः नेपाली फिल्ममा देख्न पाइँदैन भनेर ठोकुवा गर्नुचाहिँ अलि हतार हुनेछ ।
बिहे गरेपछि फिल्म कर्मलाई चटक्कै माया मारेकी हिरोइन हुन्, ‘सुमिना घिमिरे’ । निकै संघर्ष गरेर हिरोइन बनेकी सुमिनालाई ‘दुलही’ फिल्मबाट सोझी हिरोइनका रूपमा हेरिएको थियो । तर, पछि उनले फिल्म छान्न जानिनन् । जसकारण उनका धेरै फिल्म फ्लप भए । नयाँ पत्रिकाले छापेको छ ।
लगातारको असफलतापछि उनले फिल्म अभिनयबाटै सन्यास लिइन् र तीन वर्षअघि सुटुक्क बिहे गरिन् । हाल उनी एक छोरीकी आमा भइसकेकी छिन् । उनी पुनः अभिनयमा फर्किन चाहन्नन् । ‘समय’, ‘द फेमस’लगायतका केही फिल्ममा अभिनय गरेकी सुरभी जैनको अभिनय करिअरले गति लिन सकेन । उनीझैँ ‘मजबुर’, ‘द प्लान’लगायतका केही फिल्ममा अभिनय गरेकी अनुष्काले पनि बिहेपछि अभिनययात्रा टुंग्याइन् ।
‘मानव’, ‘खोज’, ‘इच्छा’, ‘रङ’लगायतका फिल्मपछि दीपशिखा शाहीलाई दर्शकले फेरि पर्दामा देख्न पाएका छैनन् । उनी कहाँ, के गर्दै छिन्, जानकारी छैन । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनीले ‘द प्लान’, ‘मेरो जीवनसाथी’, ‘दुलही रानी’लगायतका केही फिल्ममा अभिनय गरिन् । त्यसपछि उनी पनि फिल्ममा सक्रिय देखिन्नन् ।
कल्पना शाही अभिनेता मुकेश आचार्यसँग बिहे गरेपछि फिल्मबाट टाढा बसिन् । कल्पनाले ‘मन परेपछि’, ‘खोज’लगायतका केही फिल्ममा अभिनय गरेकी थिइन् । बिहेपछि कल्पना एक छोरीकी आमा बनिसकेकी छिन् । यी मात्रै होइन, केही फिल्म खेलेर हराएका हिरोइन थुप्रै छन् ।