एजेन्सी:aku chinta_ सञ्जय लीला भन्सालीको बहुप्रतिक्षित फिल्म पद्मावतका कारण भारतमा केही दिनदेखि भण्डाफोर मचिएको छ । धार्मिक विवादमा तानिएको यो फिल्मका कारण भारतका केही राज्यमा हिंश्रक प्रदर्शन नै भएको छ ।
यो फिल्म देखाउने निर्णय गरेका केही राज्यका फिल्म हलमै पसेर तोडफोड पनि भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातको मेहसाणामा भन्सालीको फिल्म पद्मावतको विरोधमा बसमा आगो लगाएर जलाइएको छ।
अर्कातिर उत्तर गुजरातमा बस सेवा नै ठप्प पारिएको छ । फिल्मको विरोधमा बस सेवा ठप्प पारिँदा सर्वसाधरण यात्रु र विरामीले सास्ती भोग्नुपरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातको पलानपुर,गान्धीनगर, साबरकान्ठा र बनासकान्ठामा बसमा आगो लगाइएको उजुरी प्रहरीमा परेको छ । त्यहीँ उत्तर गुजरातमा बस सेवा नै बन्द गरिएको अर्को समाचार पनि आएको छ ।
अधिकारीका अनुसार गुजरात राज्य सडक ट्रान्सपोर्ट कर्पोरेशनले राजपूत समुदायको विरोधपछि उत्तर गुजरातमा बस सेवा बन्द गरिदिएको हो ।
यसभन्दा पहिले गुजरातको मल्टीप्लेक्स एसोसिएशनले चर्को विरोधको सामना गर्नुपरेपछि गुजरातका कुनै पनि सिनेमा हलमा यो फिल्म नलगाउने घोषणा गरेका थिए ।
यसअघि जयपुरको कोल्हापुरमा सेटमा भएको तोडफोडपछि फिल्म निर्देशक भन्सालीमाथि राजपूत संगठनले रिस पोखेका थिए । यो फिल्मलाई लिएर भारतमा महिनौसम्म विरोध भएको थियो । विरोधपछि निर्माताहरुले यो फिल्म चर्चित सुफी गायक मलिक मोहम्मद जायसीको एतिहासिक गीत ‘पद्मावत’ मा आधारित रहेको बताएका थिए ।
यको ऐतिहासिकतासँग कुनै तोडमोड नगरिएको जवाफ निर्माताले दिएका थिए । फिल्म निर्माताहरुले फिल्ममा पाँच संशोधन गरेपछि यसलाई यू/ए प्रमाण पत्र दिइएको थियो । यो फिल्मलाई २५ जनवरीमा रिलिज गर्ने निर्णय गरिएको थियो ।