आज:  | Thu, 28, Sep, 2023

धुर्मुस सुन्तलीको सन्तपुर नमुना बस्ती यस्तो…

२०७४, ९ माघ मंगलवार ०८:१० मा प्रकाशित ( ५ साल अघि) ३४८१७ पाठक संख्या

कलाकार सीताराम कट्टेल (धुर्मुस)लाई सन्तपुर नमुना बस्ती निर्माण सम्पन्न गरिसक्दा १ करोडभन्दा बढी रकम अपुग हुने भएको छ । सो बस्ती निर्माणमा अहिलेसम्मको अवस्थामा आफूलाई १ करोडभन्दा बढी ऋण लाग्ने र त्यो रकम सहयोगमा प्राप्त नएर ऋण आफूले बोक्नुपर्ने सीताराम कट्टेलको भनाइ छ ।
बस्ती हस्तान्तरण गर्न १३ दिन बाँकी रहँदा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीतारामले यस्तो चिन्ता व्यक्त गरेका हुन् । चन्द्रपुर नगरपालिका–८ को दलित नमुना बस्तीका लागि सोबराबरको रकम अपुग भएको हो ।

रकम अभाव भएपछि हास्य कलाकार सीताराम कट्टेल यतिबेला चिन्तित छन् । उनका अनुसार त्यहाँ ४७ वटा आवासीय घर, विद्यालय, बाल उद्यान, सार्वजनिक शौचालय, मन्दिर, भ्यू टावरसहितको एकीकृत नमुना बस्ती निर्माण भइरहेको छ ।

‘५ करोड ९५ लाखको लागतमा निर्माण हुँदै गरेको नमुना बस्तीका लागि अझै १ करोड ३० लाख रकम अपुग भएको छ,’ सीतारामले बताए । सहयोगी मनहरूले यति धेरै धनराशि सहयोग गर्दागर्दै पनि अझै १ करोड ३० लाख रकम अपुग भएको उनले बताए । छोटो समयमा नै यति धेरै ठूलो संरचना निर्माण गर्न सफल सीताराम अझै पनि सहयोग आउनेमा आशावादी छन् । पछिल्लो समय बस्ती निर्माणका अभियन्ता सीतारामले व्यक्तिगत तथा सामाजिक सञ्जालहरूमा रकम सहयोग गर्न अपिल गर्दै आएका छन् । दिनहुँ सहयोग रकम जुटिरहे पनि छोटो समयमा ठूलो रकम जुटाउनुपर्ने भएकाले समस्या आएको
उनले बताए ।यसैबीच सो बस्ती आफूले २१ माघमा हस्तान्तरण गर्न लागेको पनि उनले बताए । ‘सन्तपुर नमुना बस्तीको काम अहिले अन्तिम चरणमा छ । रंगरोगन, बिजुली, भित्री बाटो, वाल उद्यान निर्माण, झ्यालढोका लगाउने काम अहिले भइरहेको छ,’ सीतारामले भने ।

खबर एक्सप्रेस