आज:  | Sat, 23, Mar, 2024

बिश्वोकै कान्छा निर्देशक सौगात विष्टद्वारा निर्देशित चलचित्र “हैरान” बन्ने

२०७४, १९ माघ शुक्रबार ०५:५१ मा प्रकाशित ( ६ साल अघि) ३४४३५ पाठक संख्या

नेपाली कथानक चलचित्र हैरान आउँदो जेठ ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । डान्स फेभरको व्यानरमा निर्माण भएको चलचित्र “हैरान”लाई काठमाडौं उपत्यकामा माधव बाग्लेको पपकर्न पिक्चर्सले र उपत्यका वाहिर मनोज राठीले वितरण गर्नेछन् ।

यो विश्वका कान्छा निर्देशक सौगात विष्टद्वारा निर्देशित दोश्रो चलचित्र हो । चलचित्रमा गजित विष्ट, निश्मा घिमिरे, सरोज खनाल, वुद्धि तामाङ् (हैंट), सत्यराज आचार्य, पुष्कर रेग्मी, सागर लम्साल (बले), शिशिर भण्डारी, सुरेन बसेल नारायण घिमिरेलगायत कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा नव नायिका आरोही शर्मा र बाल कलाकार एन्जेल राईको शशक्त भूमिका छ । गोविन्दसिंह भण्डारी सहनिर्देशक र गम्भीर विष्ट प्राविधिक निर्देशक रहेको यस चलचित्रमा निर्मल शर्मा, गोविन्द राई, रश्मी भट्ट, रवि गिरी, सुनिल कटुवाल, रक्षा श्रेष्ठले अतिथि कलाकारको भूमिका निर्वाह गर्नुभएको छ ।

साउथ इण्डियन कलाकार वसीम रजा मुख्य खलनायकको भूमिकामा रहनुभएको चलचित्र हैरान निरज कँडेल र नवराज उप्रेतीले खिच्नु भएको हो । चलचित्रको कार्यकारी निर्माता सम्झना पोख्रेल हुनुहुन्छ भने मुक्ति घले, डा. वाइ. यल. लामा र सृष्टि घिमिरे निर्माता हुनुहुन्छ ।

चन्द्र पन्तको द्वन्द्व, प्रितम पाण्डेको सम्पादन, अनन्त घिमिरेको भिएफएक्स, अमित श्रेष्ठको मिक्सिङ्मा निर्माण भएको चलचित्रको कथा गम्भीर विष्टले लेख्नु भएको हो । चलचित्रको नृत्य निर्देशक पनि विष्ट नै हुनुहुन्छ ।
शान्तिप्रिय, चन्द्रमणि भट्टराई, सत्य—स्वरुप र गम्भीर विष्टको शव्दमा, सत्य स्वरुप, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठले संगीत भर्नुभएका फरक स्वादका ४ वटा गीत चलचित्रमा समावेश छन् । गीतमा सत्य स्वरुप, इन्दिरा जोशी, युवराज चौलागाई, दूर्गा परियार, गिरिश खतिवडा, वविता मानन्धर, राजन इशानसँगै बाल कलाकार सरगम आचार्यले स्वर दिनुभएको छ ।

आम मानिसको दैनिक जीवनका हैरानीलाई हास्य, द्वन्द्व, उत्साह र रहस्यमय ढङ्गबाट प्रस्तुत गएको चलचित्र हेरेपछि दर्शकलाई प्रचलित स्वादभन्दा फरक महसुस गराउँछ । चलचित्रका विषयमा कार्यकारी निर्माता पोख्रेलले प्रतिक्रिया दिनुभयो । कथाको अहिल्यै रहस्य खोल्नुभन्दा चलचित्र हेरेर दर्शकलाई मुल्याङ्कन गर्ने मौका दिनु उपयुक्त हुन्छ, चलचित्रका निर्देशक सौगात विष्ट भन्नुहुन्छ — यो, भरपुर मनोरञ्जन दिने, रोमाञ्चकता, उत्साहले भरिएको, दर्शकलाई छिनछिनमा तरङ्गित बनाउने चलचित्र हो ।

खबर एक्सप्रेस