काठमाडौं: एमाले स्थायी समितिको शुक्रवारको बैठक ‘विशेष’ बन्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको ६६ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री निवास बालुवटारमा ‘बर्थ डे केक’ काटेर स्थायी समितिको बैठक सुरू गर्ने तयारी भइरहेको छ । उक्त बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुको नाम अनुमोदन गराउने तयारी पनि गरेका उनको सचिवालयले जनाएको छ ।
२००८ साल फागुन १० गते जन्मिएका ओलीको शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमै ‘बर्थ डे’ मनाउने तयारी भइरहेको छ । विहीवार साँझ निर्धारण गरिएको स्थायी समितिको बैठक एक दिनपछि सार्नुको प्रमुख कारण पनि ओलीको जन्मोत्सव भएको स्रोतले बतायो ।
नेताहरुलाई केक खुवाएपछि बस्ने स्थायी समिति बैठकमा ओलीले एमालेबाट जाने मन्त्रीहरुको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एमालेले पार्टी एकता र सरकार निर्माणका विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार ओलीलाई दिइसकेको छ । ओलीले प्रस्ताव गर्ने मन्त्रीका नामलाई स्थायी समितिले अनुमोदन गरेपछि सपथ गराइनेछ ।
ओलीले मन्त्रीका लागि नेताहरुको ‘रोष्टर’ बनाएर नाम छान्ने काम गरिरहेको स्रोतले बतायो । वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुसँग पनि ओलीले मन्त्रीका नामबारे परामर्श गरिरहेका छन् ।