आज:  | Thu, 28, Mar, 2024

लक्ष्य वान–डे मान्यताको

२०७४, १२ फाल्गुन शनिबार ०६:४८ मा प्रकाशित ( ६ साल अघि) ३५४७२ पाठक संख्या

विश्वकप छनोट

काठमाडौँ — जिम्बावे शनिबार जाँदै गर्दा नेपाली क्रिकेट टोलीसँग ठूलो लक्ष्य छ । विश्वकप छनोट २०१९ को विश्वकपको यात्रा पनि हो । शीर्ष दुई टिम विश्वकपमा पुग्नेछन् । छनोट खेलेर हरारेबाट अर्को महिना फर्किदासम्म नेपालले वान–डे मान्यता प्राप्त पाउन पनि सक्छ ।

१० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपालले सबैभन्दा तल्लो वरीयतामा रहेर प्रतियोगिता खेल्नेछ । आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङसँग एउटै समूहमा रहेकाले नेपालको सम्भवत: सबैभन्दा ठूलो परीक्षा जिम्बावेमै हुनेछ । नेपालका कप्तान पारस खड्का यसबारे जानकार छन्, त्यसैले उनी अहिले नैलक्ष्य राख्दैनन् ।

‘जिम्बावे यात्रा त्यति सजिलो हुने छैन । कति टिमले त विश्वकपमा पुग्ने भनेर २ वर्ष अगाडिदेखि नै तयारी गरिरहेका छन् । हाम्रो त्यो अनुरूपको तयारी छैन, किनभने हामी अन्तिम समयमा मात्र विश्वकप छनोटमा खेल्ने तय भएको हो, त्यसैले हाम्रो लक्ष्य वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनु हो,’ पारसले भने, ‘लक्ष्य बनाएर मात्र हुँदैन राम्रो पनि खेल्न सक्नुपर्छ ।’

गतसाता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन डिभिजन २ को फाइनल पुग्दै नेपाल विश्वकप छनोटमा पुगेको थियो । फाइनलमा यूएईसँग भने नेपाल ७ रनले पराजित भएको थियो । जिम्बावेसहित वेस्ट–इन्डिज, अफगानिस्तान र आयरल्यान्ड टेस्ट मान्यता राष्ट्र हुन् । नेदरल्यान्ड्ससँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता छ । यी बाहेकका शीर्ष तीन टोलीले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् ।

वान–डे अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष ८ मा पर्न नसकेपछि विश्वकपमा पुग्न वेस्ट–इन्डिज, जिम्बावे, आयरल्यान्ड र स्कटल्यान्डले छनोटको यात्रा गरिरहेका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहँदै नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ र पपुवा न्युगिनी विश्वकप छनोटमा पुगेका हुन् । च्याम्पियनसिपको उपाधिपछि नेदरल्यान्ड्स पनि वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बनिसकेको छ ।

च्याम्पियनसिपको शीर्ष चारमा पर्न नसकेपछि नेपाल र यूएईले छनोटमा पुग्न डिभिजन २ को यात्रा लिनुपरेको थियो । छनोटको अर्को समूहमा वेस्ट–इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स र पपुवा न्युगिनी रहेका छन् । एउटा समूहबाट शीर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् ।

विश्वकप छनोटको संरचना यस्तो छ, जहाँ नेपालले सुपर लिगमा पुगे पनि वानडे अन्तर्राष्ट्रिय मान्यता नपाउन सक्छ । अथवा समूह चरणको सबै खेल हारे पनि प्ले–अफको पहिलो खेल जितेमा वान–डे अन्तर्राष्ट्रिय क्लबमा पुग्न सक्छ । पुछारको दुई स्थानमा रहे पुन: डिभिजन २ मा झर्नुपर्ने हुन्छ । यस्तोमा आफूअनुकूल नतिजा ननिकालेमा आगामी चार वर्षसम्म नेपाल डिभिजन क्रिकेटमै थन्किने अवस्था आउन पनि सक्छ । ‘विश्वकप छनोटलाई पर्याप्त समय नपाए पनि दुई महिनादेखि हामीले निरन्तर क्रिकेट खेलिरहेका छौं । विश्राम पनि त्यत्तिकै महत्त्वपूर्ण छ, तर खेलाडीहरू अहिले लयमा छन् । विश्वकप छनोट जस्तो प्रतियोगिता भएकाले अझ १०–१५ दिन अभ्यास भएको भए झन् राम्रो हुने थियो,’ प्रशिक्षक जगत टमाटासँग छनोटलाई पर्याप्त तयारी नपाएकोमा खासो गुनासो छैन, उनी यसमा सकारात्मक पक्ष देख्छन्, ‘डिभिजन २ ले हाम्रो मनोबल उच्च बनाएको छ । अन्तिम बलसम्म संघर्ष गर्न सक्यो भने जितिन्छ भनेर देखाएको छ ।’

आफ्ना कप्तान जस्तै उनी पनि नेपालको लक्ष्य सुपर सिक्स रहेको बताउँछन् । त्यसमा उनी नेपालको सम्भावना पनि देख्छन् । ‘हामीलाई खासै डर छैन, तर प्रतिद्वन्द्वीलाई नेपाल जुनसुकै बेला पनि क्लिक हुन सक्छ भन्ने डर छ । नामिबियामा हामीले जुन नतिजा निकाल्यौं त्यसले हामीलाई राम्रो खेल्न प्रेरित गरेको छ । डिभिजन २ को प्रदर्शनले मात्र पुग्दैन, यो भन्दा अझै धेरै मिहिनेत गर्नुपर्छ,’ उनले भने ।

विश्वकप छनोटमा नेपालको यो लगातार दोस्रो तथा कुल तेस्रो सहभागिता हो । यसअघि विश्वकप छनोट आईसीसी ट्रफीको नामले आयोजना हुने गरेको थियो । यसमा आईसीसीको सदस्यता प्राप्त सबै राष्ट्रले सहभागिता जनाउन पाउँथ्यो । नेपालले सन् २००१ मा क्यानडाबाट आईसीसी ट्रफीको ढोका खोलेको थियो । सुरुआती चरणबाटै सहभागिता जनाएको नेपाल दोस्रो चरण पुग्न सकेन । नेपाललाई पराजित गर्दै नामिबिया विश्वकपमा पुग्यो ।

२०१४ मा न्युजिल्यान्डको विश्वकप छनोट नेपाल डिभिजन ४ बाट जित्दै पुग्यो । छनोट चरण पार गरेर त्यहाँ पुगेको नेपालको त्यसपटक पनि केही लागेन । नेपालकै समूहमा रहेका स्कटल्यान्ड र यूएई विश्वकपमा पुगे । प्रश्न के रहयो भने नेपालले यसपटक आफ्नो समूहका प्रतिद्वन्द्वीलाई विश्वकप पुग्नबाट रोक्ला ? सकेको खण्डमा नेपाल कम्तीमा वान–डे अन्तर्राष्ट्रिय मान्यता लिएर जिम्बावेबाट फर्किने निश्चित छ ।

सरकारको सम्मान एवं बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी डिभिजन–२ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकामा सम्मान गरेका छन् । ओलीले नेपाल सरकारका तर्फबाट टोलीका १४ खेलाडीलाई ३–३ लाख रुपैयाँ प्रदान गरेका थिए । यस्तै प्रशिक्षक जगत टमाटाले १ लाख ५० हजार तथा फिजियो दिनेश भट्टले १ लाख रुपैयाँ प्राप्त गरे । ६८ औं जन्मदिन मनाइरहेका प्रधानमन्त्री ओलीले विश्वकप खेल्न प्रस्थान गर्ने टोलीलाई बिदाइ तथा शुभकमना सन्देश पनि दिए । त्यसै कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनले डिभिजन–२ मा खेलेका १४ खेलाडी, प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई १ लाख रुपैयाँसहित सम्मान गरेको थियो ।

खबर एक्सप्रेस