हङकङ — गत आइतबार प्रदर्शन हुने भनिएको चलचित्र २ रुपैयाँका आयोजकहरु फरार भएका छन् । बी १३ प्रेजेन्ट्स र सपोर्टेड बाइ बाझापाटन समाज र जोर्डन गाइज् लेखिएका भीआईपी टिकट बोकेका युवाहरुको समूहबाट पीडित व्यापारीहरुले प्रहरीमा रिपोर्ट गरेपछि उक्त चलचित्र प्रदर्शन नै भएन ।
प्रहरीले खोजि गरे पछि आयोजक फरार भएका हुन् । पोस्टर र टिकटमा रहेका चारवटै मोबाइल नम्बरमा सम्पर्क हुन सक्दैन । प्रहरीले पीडित व्यापारीका कार्यालयमा रहेका सीसीटीभीका फुटेजसमेत संकलन गरेर लगेको बुझिएको छ । उनीहरुले भीभीआईपी टिकट वापत १० हजार मागेको कन्सट्रक्सन कम्पनी र होलसेल व्यापारीहरुले बताएका छन् । उनीहरुबाट पाकिस्तानी व्यापारीहरु समेत पीडित भएको पाइएको छ ।
प्रहरीको खोजिसंगै पसलका भित्तामा टाँसिएका पोस्टर च्यात्ने काम भएको छ । केही पसलेले पोस्टर प्रहरीले च्यातेको आशंका गरे पनि देख्नेहरुले आयोजकले नै पोस्टर च्यातेको बताएका छन् ।
टिकट बिक्री गर्ने क्रममा ती आयोजकले हलको ८ हजार तिरेको बताउने गरेको एक पीडितले नाम सार्वजनिक नगर्ने शर्तमा बताए । हल बुकिङको रेकर्डमा संस्था गुल्मी समाज, सम्पर्क व्यक्तिको नाममा मि. थापा र सम्पर्क नं. मा नमस्ते लिमिटेडका सञ्चालक नेत्र पहराईको फोन नम्बर रहेको छ । गुल्मी समाजका अध्यक्ष तिलक थापा नेपाल गएको बुझिएको छ भने उपाध्यक्ष ओम गुरुङसंग सम्पर्क हुन सकेन ।