आज:  | Thu, 28, Mar, 2024

वर्षाका कारण दोस्रो अभ्यास खेल अवरुद्ध

२०७४, १८ फाल्गुन शुक्रबार ०४:४९ मा प्रकाशित ( ६ साल अघि) ३३५५८ पाठक संख्या

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत बिहीबार हुने भनिएको नेपाल र हङकङबीचको दोस्रो अभ्यास खेल अवरुद्ध भएको छ । जिम्बावेको क्वेक्वेस्थित क्वेक्वे स्पोटर््स क्लबमा हुने भनिएको खेल वर्षाका कारण अवरुद्ध भएको हो । नेपालले प्रतियोगिताको अन्तिम तयारीस्वरूप हङकङविरुद्ध अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको थियो ।

प्रतियोगिताअघिको दुईमध्ये नेपालले गत मंगलबार भएको पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पाँच विकेटले पराजित गरेको थियो । अर्को वर्ष इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपको अन्तिम छनोट प्रतियोगिताको रूपमा हुन लागेको प्रतियोगिता आइतबारबाट जिम्बावेमा सुरु हुँदै छ । लगातार दोस्रो पटक विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता खेलिरहेको नेपाल आयोजक जिम्बावेसहित समूह ‘बी’मा परेको छ ।

नेपालको समूहमा अफगानिस्तान, हङकङ र स्कटल्यान्ड पनि छन् । समूह ‘ए’मा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसहित आयरल्यान्ड, यूएई, नेदरल्यान्ड्स र पपुवा न्युगिनी रहेका छन् । समूहगत चरणमा शीर्ष तीन स्थानभित्र पर्ने टोलीले सुपर सिक्स चरणमा स्थान बनाउनेछन् । सुपर सिक्सबाट फाइनल प्रवेश गर्ने दुई टोली सन् २०१९ को विश्वकपका लागि छनोट हुनेछन् ।

एसोसिएट टोलीहरूमध्ये शीर्ष तीनभित्र (नेदरल्यान्ड्सबाहेक) पर्ने टोलीले आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पनि पाउनेछन् । नेपालले आइतबार बलियो प्रतिद्वन्द्वी आयोजक जिम्बावेविरुद्धको खेलसँगै प्रतियोगिताको सुरुवात गर्दै छ । जिम्बावेविरुद्धको खेल अघि नेपालले सामान्य अभ्यास र मैदानबाहिरै रहेर प्रतियोगिताको तयारी गर्नेछ ।

खबर एक्सप्रेस