आज:  | Mon, 25, Sep, 2023

उच्च फर्ममा ग्रिजम्यान

२०७४, १८ फाल्गुन शुक्रबार ०५:०० मा प्रकाशित ( ५ साल अघि) ३४७०९ पाठक संख्या

म्याड्रिड : उपाधि होडमा ठूलो अर्थ राख्ने शीर्ष स्थानको बार्सिलोनाविरुद्धको महत्वपूर्ण खेल अघि एट्लेटिको म्याड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोइन ग्रिजम्यान उच्च फर्ममा देखिएका छन्। यसले लामो समयपछि उपाधिको आशा गरिरहेको एट्लेटिको म्याड्रिडका समर्थकलाई खुसी दिएको छ।

लिग अंकतालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिकोले यही आइतबार शीर्ष स्थानको बार्सिलोनासँग प्रतिस्पर्धा गर्दै छ। यो खेलमा बार्सिलोनालाई पराजित गर्न सकेको अवस्थामा एट्लेटिकोले अंक दूरी छोट्याउँदै उपाधिको सम्भावना थप बलियो बनाउनेछ। गत आइतबार सेभिलविरुद्ध भएको खेलमा ह्याट्रिक गरेका ग्रिजम्यानले बुधबार लेगानेसविरुद्ध भएको खेलमा चार गोल गरेका छन्।

उनकै उत्कृष्ट प्रदर्शनमा एट्लेटिकोले लेगानेसविरुद्ध ४-० को जित हात पारेको छ। उनको प्रदर्शनमा प्रशिक्षक डिइगो सिमोन पनि खुसी देखिएका छन्। ‘उनै साँच्चिकै असाधारण खेलाडी हुन्। उनले धेरै अवसरमा त्यो क्षमता प्रदर्शन गरी पनि सकेका छन्’, प्रशिक्षक सिमोनले भन्छन्, ‘उनीसँग निक्कै क्षमता छ। त्यसैले उनी खेलमा प्रभाव पार्न सक्छन्।’ स्पेनिस लिगमा केही समयअघि मात्रै बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोविरुद्ध स्पष्ट ११ अंकको अग्रता बनाएको थियो। यद्यपि बिहीबार बार्सिलोनाले लस पाल्मसविरुद्ध खेल्नुअघि एट्लेटिकोले दूरी चार अंकमा झारेको छ। यस क्रममा एट्लेटिकोले आफ्नो पछिल्लो आठ खेलमा लगातार जित हात पारेको छ।

ग्रिजम्यानले खेलको दुवै हाफमा दुई÷दुई गोल गरेका थिए। लेगानेसविरुद्धको चार गोलसँगै ग्रिजम्यानले स्पेनी लिगमा आफ्नो गोल संख्या १५ पुर्‍याएका छन्। उनले सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको चौथो स्थानमा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन्। ला लिगामा सेल्टा डी भिगोका इयागो अस्पास तथा बार्सिलोनाका लुइस स्वारेज र लियोनल मेसीले समान २२ गोल गरेका छन्।

खबर एक्सप्रेस