आज:  | Tue, 23, Apr, 2024

आज अफगानिस्तानसँग खेल्दै, दबाबमा नेपाल

२०७४, २६ फाल्गुन शनिबार ०७:०६ मा प्रकाशित ( ६ साल अघि) ३३६५८ पाठक संख्या

काठमाडौं : एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको महत्वपूर्ण खेलमा नेपालले शनिबार पुरानो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ । प्रतियोगितामा शुक्रबारसम्मको नतिजालाई हेर्दा विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताका लागि पनि नेपाल सुपर सिक्स चरणमा पुग्नैपर्ने हुन्छ ।

समूह ‘ए’मा एकदिवसीय टोलीको मान्यता पाइसकेको नेदरल्यान्ड्स तथा समूह ‘बी’मा टेस्ट टोली अफगानिस्तानले कमजोर प्रदर्शन गरेपछि एकदिवसीय टोलीको मान्यता नपाएका तीन एसोसिएट टोली सुपर सिक्स चरणमा पुग्ने अवस्था देखिएको छ । शुक्रबारसम्मको अवस्थामा समूह ‘ए’बाट टेस्ट टोली वेस्ट इन्डिज र आयरल्यान्डसहित एसोसिएट टोली संयुक्त अरब इमिरेट्स (यूएई) तथा समूह ‘बी’बाट टेस्ट टोली जिम्बाब्वेसँगै एसोसिएट टोली स्कटल्यान्ड र हङकङको पनि सम्भावना देखिएको छ । यही समीकरण सम्भव भए नेपालले विश्वकप छनोटसहित आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउने अवसर पनि गुमाउनेछ ।

त्यसैले नेपाललाई सुपर सिक्समा पुग्दै कम्तीमा एक दिवसीय टोलीको मान्यता पक्का गर्न अफगानिस्तानविरुद्धको खेल जित्नैपर्ने बाध्यता छ । सुपर सिक्स यात्रा पक्का गर्न नेपाललाई अफगानिस्तानसँगै हङकङविरुद्धको समूहगत चरणको अन्तिम खेल पनि जित्नुपर्ने बाध्यता छ । हङकङले अफगानिस्तानलाई पराजित गर्दै दुई अंक बटुलिसकेको छ । शनिबार नै हुने अर्काे खेलमा हङकङले आयोजक जिम्बाब्वेलाई पनि पराजित गरेको अवस्थामा अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गरेर मात्रै पुग्नेछैन, रन रेट पनि निकै माथि हुनुपर्नेछ ।

शनिबारको खेलमा हङकङ पराजित भएको अवस्थामा भने नेपालले अफगानिस्तान र हङकङविरुद्धको जितसहित सहजै सुपर सिक्स चरणको यात्रा पक्का गर्नेछ । यससँगै नेपालले सन् २०२२ सम्मका लागि पहिलोपटक एकदिवसीय टोलीको मान्यता पनि प्राप्त गर्नेछ । शनिबारको खेलअघि नेपाली टोलीसामु बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई पराजित गर्ने सुनौलो अवसर पनि छ ।

पछिल्लो दुई वर्षयता उच्च स्तरको प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै आएको अफगानिस्तान जारी प्रतियोगितामा भने केही कमजोर देखिएको छ । अफगानिस्तानले प्रतियोगिताको मुखैमा आएर नियमित कप्तान अस्घर स्तनिक्जाईलाई गुमायो । प्रतियोगिताको दोस्रो खेलसम्म आइपुग्दा विस्फोटक प्रारम्भिक ब्याट्सम्यान मोहम्मद सेहजाद पनि आईसीसीको अनुशासनको कारबाहीमा परेका छन् ।

शनिबारको खेलमा अफगानिस्तान टोली नेपालविरुद्ध यी दुई अनुभवी खेलाडीबिना मैदानमा उत्रनेछ । त्यसैले जारी प्रतियोगितामा कमजोर मनोबलमा देखिएको अफगानिस्तानलाई पराजित गर्दै अघि बढ्न नेपाली टोलीसामु गतिलोे अवसर पनि छ । यद्यपि अन्य अनुभवी खेलाडीको बाहुल्य रहेको अफगानिस्तानलाई सहज लिने भूल नेपाली टोलीले पक्कै गर्नेछैन ।

खबर एक्सप्रेस