आज:  | Sun, 24, Sep, 2023

साम्राज्ञी को सँग? | तिमी सँग

२०७४, २७ फाल्गुन आईतवार १२:१० मा प्रकाशित ( ५ साल अघि) ३४३३६ पाठक संख्या

फाल्गुन २७, काठमाडौं। विभिन्न कारणले चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फेरि चर्चामा रहन अर्को विषय आएको छ। त्यो विषय भने शाह अभिनित बहुप्रतिक्षित चलचित्र ‘तिमी सँग’ को रहेको छ। यस चलचित्रको ट्रेलर आज सार्बजनिक भएको छ।

ट्रेलरको आधारमा, चलचित्रमा लव ट्रयाङ्गल हुनेछ। चलचित्रमा अभिनेता नाजिर हुसेनले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मन पराएको हुन्छ, तर शाहले भने अभिनेता आकाश श्रेष्ठलाई मन पराएको हुन्छ, तर फेरि श्रेष्ठले भने शाहलाई मन पराएको हुदैँन। कथा रमाईलो र इमोश्नल जस्तो देखिन्छ, कथा सबै घुम्दा, ट्रेकिङ गर्दा बिचको रहेको छ।

पहिले नै दुई वटा गीत तथा टिजर रिलिज गरिसकेको यस चलचित्रको ट्रेलर भने लगभग आठ महिना पछि रिलिज गरिएको हो। भाद्र ८ गते प्रदर्शनीमा आउने भनिएको ‘तिमी सँग’ चलचित्रको काम तोकिएको मितिमा पूरा हुन नसकेको हुँदा प्रदर्शनी मिति सारिएको थियो र अब भने चलचित्र चैत्र २३ गते प्रदर्शनीमा आउने भनिएको छ।

शिशिर राणाको निर्देशनमा बन्ने यस साँगीतिक प्रेम कथामा साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत नाजिर हुसेन र आकाश श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन्। चलचित्र काठमाडौं लगायत पोखरा, घोरेपानी, घान्द्रुक, पुनहिल, देउराली, अन्नपूर्ण बेस क्याम्प जस्ता रोमान्टिक लोभलाग्दो प्राकृतिक दृश्य भएका पर्यटकीय स्थानहरुमा छायांकन गरिएको छ।

चलचित्र ‘म त तिम्रै हु’ बाट डेब्यु गरेका अभिनेता आकाश श्रेष्ठको यो दोश्रो चलचित्र हो भने निर्देशक शिशिर राणाले यो चलचित्रबाट निर्देशकीय डेब्यु गरेका छन्। नाजिर हुसेनको लुक, बोली र अभिनयका फ्यानहरु यस चलचित्रमा पनि हुसेन सोही कला देख्नुहुनेछ।

शिशिर राणाले निर्माण गरेको यस चलचित्रमा शुशिल क्षेत्रीको छायांकन र बनिश बिक्रम शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ भने कथा निर्देशक शिशिर राणाको आफ्नै रहेको छ।

खबर एक्सप्रेस