आज:  | Fri, 29, Mar, 2024

यसरी भयो विमान दुर्घटना

२०७४, २९ फाल्गुन मंगलवार ०२:३५ मा प्रकाशित ( ६ साल अघि) ३२९९७ पाठक संख्या

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिलेसम्मकै ठूलो विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ४९ जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।

बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु बोकेर काठमाडौं आइरहेको ७२ सिट क्षमताको ‘डास-८ बम्बार्डियर’ त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटना भएको हो । विमानमा पाइलट, को-पाइलट र क्याबिन क्रू गरी चार जना चालक दलका सदस्य थिए ।

यो त्रिभुवन विमानस्थलभित्र भएको सबैभन्दा ठूलो दुर्घटना हो । यसअघि टर्किस एयरको जहाज अवतरण क्रममा दुर्घटनाग्रस्त भए पनि मानवीय क्षति भएको थिएन । टर्किस र विमान बंगला दुवै जहाज अवतरण क्रममा धावनमार्गभन्दा बाहिर गएर दुर्घटनामा परेका हुन् । विमानमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक रहेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । चालक दलका सबै सदस्य बंगलादेशी नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक सञ्जीव गौतमले बताए । यात्रुमध्ये ३७ पुरुष, २८ महिला र दुई बालबालिका हुन् ।

दुर्घटनामा ज्यान गुमाउने २२ नेपाली, २१ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको महानिर्देशक गौतमले जानकारी दिए । चालक दलका चारै सदस्यको निधन भएको छ । दुर्घटनामा घाइते भएका यात्रुमध्ये ११ नेपाली र ११ बंगलादेशी छन् ।

विमानस्थलको टावर कन्ट्रोल रुम र पाइलटबीच नियमित संवाद हुँदाहुँदै विमान दुर्घटनामा परेको बताइएको छ । विमानस्थलको कन्ट्रोल रुमबाट बाहिरिएको गोप्य संवादमा पाइलटको विमानस्थलसँग नियमित सम्पर्क भइरहेको देखिन्छ । तर, चालकले कन्ट्रोल रुमको निर्देशन पालना नगर्दा विमान दुर्घटनामा परेको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

टावर कन्ट्रोल रुमसँग सम्पर्क हुँदा पाइलटले विमानमा कुनै पनि समस्या नरहेको बताएका थिए । विमानलाई दक्षिणतर्फको एप्रोचबाट ल्यान्डिङका लागि अनुमति दिएको थियो । तर, चालकले विमानलाई दक्षिणबाट नभई उत्तरतर्फबाट अवतरण गराउन प्रयास गरेका थिए । ‘दक्षिणबाट अवतरण गर्नुपर्ने विमान उत्तरतर्फ लागेपछि कन्ट्रोल रुमले विमानमा समस्या देखिएको हो कि भनेर सोधेको थियो’, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक गौतमले भने, ‘चालकले जहाज सामान्य अवस्थामै रहेको जवाफ दिए ।’ कन्ट्रोल रुमले पनि जहाज अवतरण गराउन उत्तर-दक्षिण दुवै एप्रोचबाट सुविधा दियो । तर, विमान धावनमार्गभन्दा बाहिर पूर्वतिरको भागमा दुर्घटना हुन पुग्यो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार घाइते यात्रुमध्ये ओम हस्पिटलमा एक जना, नर्भिक हस्पिटलमा चार जना, मेडिसिटी हस्पिटलमा एक जना, न्युरो हस्पिटलमा एक जना, ग्रान्डी हस्पिटलमा चार जना, केएमसी टिचिङ हस्पिटलमा ११ जनाको उपचार भइरहेको छ । अस्पताल पुर्‍याइएका घाइते यात्रुमध्ये आठ जनाको उपचार क्रममा निधन भएको थियो । सबै मृतकको पार्थिव शरीर शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ ।

घाइतेमध्ये ११ नेपाली र ११ बंगलादेशी नागरिक छन् । नेपाली यात्रुमा विनोद पौडेल, वसन्त बोहरा, आशीष रञ्जित, सोनम शाक्य, केशव पाण्डे, दिनेश हुमागाईं, दयाराम ताम्राकार, हरिप्रसाद सुवेदी, किशोर त्रिपाठी, प्रिन्स धामी र समिर व्यञ्जनकार छन् । त्यसैगरी, घाइते बंगलादेशी नागरिकमा साहरिन अहमद, इमरान कविर हासी, मो.कविर हुसेन, रसिद हुसेन, मो. रेजवानुल हक, मो. साहिन बेपारी, मेहदी हुसेन, रिजान अब्दुल्ला, डा. इराजन र सैचद कमनाहार स्वर्णा छन् ।

ज्यान गुमाउने नेपाली

दुर्घटनामा ज्यान गुमाउने नेपालीमा शिला बजगाईं, चारु बराल, सोविन्द्र सिंह बोहरा, प्रवीन चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, प्रसन्न पाण्डे, हरिशंकर पौडेल, सञ्जय पौडेल, कृष्ण कु. सहानी, आस्ना शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, बालकृष्ण थापा, अवधेशकुमार यादव, एन्जिला बराल, पूर्णी लोहनी, श्रेया झा, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन र श्वेता थापा छन् ।

६ सदस्यीय जाँचबुझ आयोग गठन

सरकारले यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगका सदस्यमा प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनील प्रधान, इन्जिनियर उद्धवप्रसाद सुवेदी र सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

दुर्घटनालगत्तै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेका हुन् । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले विमान दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए । आयोगलाई छिटोभन्दा छिटो घटनाको सत्यतथ्य पत्ता लगाई सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

बैठकले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको मन्त्री पण्डितले जानकारी दिए । बैठकले दुर्घटना हुनासाथ उद्धारमा खटिएका नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, एयरपोर्टका कर्मचारी, सेना, प्रहरी, चिकित्सकलगायत सबैलाई धन्यवाद दिएको छ । यसैगरी, बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ताको शपथ प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका प्रमख मुख्य न्यायाधीशले गराउने निर्णय गरेको मन्त्री पण्डितले जानकारी दिए ।

यसरी भयो दुर्घटना
-सञ्जीव गौतम, महानिर्देशक, क्यान

यूएस बंगला विमानको डास-८ बम्बार्डियर सोमबार दिउँसो दुई बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको हो । विमान अवतरण क्रममा एउटा टायरले धावनमार्ग र अर्को टायरले घाँसेमैदान टेकेको देखिन्छ । विमान असन्तुलन भएर धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको हो ।

विमानस्थलको टावर कन्ट्रोल रुम र विमान चालकबीच नियमित सम्पर्क भइरहेको थियो । कन्ट्रोल रुमले विमानलाई दक्षिणतर्फको ‘रन वे जिरो टु’ मा अवतरण गर्न अनुमति दिएको थियो । तर, जहाज दक्षिणबाट अवतरण नगरी उत्तरतर्फ मोडियो । उत्तरतर्फ जहाज मोडिएपछि कन्ट्रोल रुमले फेरि पाइलटसँग जहाजमा केही समस्या छ कि भनेर सोध्यो । पाइलटले ‘आइएम गुड, नो प्रोब्लम’ भनिरहेका थिए । तर, विमानस्थलले जहाजमा केही समस्या देखिएको हुन सक्ने ठहर गरी सबै जहाज होल्ड गराएर ‘रन वे’ खाली गराइसकेको थियो ।

कन्ट्रोल रुमले लगत्तै पाइलटलाई उत्तर-दक्षिण दुवैतर्फबाट विमान अवतरण गराउन अनुमति दियो । त्यो समयसम्म पनि पाइलटले कुनै इमरजेन्सी आवश्यक नरहेको बताइरहेका थिए । तर, कन्ट्रोल रुमले जहाजमा कुनै समस्या भएको हुन सक्ने भन्दै सावधानी अपनाएको थियो । अन्ततः पाइलटले जहाज उत्तरतर्फको ‘टु जिरो’ बाट अवतरण गराए ।

विमानको एउटा चक्काले ‘रन वे’मा टच गरेको थियो । जहाजको स्पिड कन्ट्रोल हुन सकेन । जहाज अन्तर्राष्ट्रिय जहाज पार्किङ क्षेत्रतर्फको पूर्वतिरको चौरमा पुगेर दुर्घटना भयो । दुर्घटनाको विषयमा बंगलादेशको सिभिल एभिएसनसँग पाइलटदेखि आवश्यक सबै विवरण माग गरिसकेका छौं ।

खबर एक्सप्रेस