आज:  | Fri, 01, Dec, 2023

नेपालले पायो ओ डि आइ मान्याता

२०७४, १ चैत्र बिहीबार १४:३४ मा प्रकाशित ( ५ साल अघि) ३२८९५ पाठक संख्या

अहिले नेपाली क्रिकेटको नियमनकारी निकाय अन्तराष्ट्रिय क्रिकेट परिषदको निलम्बनमा छ । आन्तरिक विवादका कारण निलम्बनमा परेको क्यानको भविष्य के हुने भन्ने अन्योल कायमै छ । तर यहि बीचमा राष्ट्रिय क्रिकेट टिमले ऐतिहासिक सफलता हात पार्दै चार बर्षका लागि एकदिवशीय मान्यता पाएको छ ।

विगत एक महिना नेपाली क्रिकेटका लागि विषेश रहयो । नेपालका लागि नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टु अनि जिम्बावेमा भइरहेको एकदिवसिय विश्वकप छनौट कुनै चलचित्रको कथा भन्दा कम भएन । अन्तिम समयसम्म पनि हार नमानेको नेपालले अन्ततः जुन लक्ष्यका साथ जिम्बावे पुगेको थियो त्यो हासिल गरेरै छोड्यो । त्यो हो एक दिवसिय मान्यता पाउनु । एकदिवसिय हरेक खेलाडीको त्यो सपना हो जसलाई पाउन उनीहरुले दिनरात मेहनत गरे । सिमित स्रोत र साधनको भरपुर सदुपयोग गर्दै मैदान बाहिर रहेका हरेक समस्या अनि प्रश्नहरुको जवाफ मैदान भित्रबाट दिए । डिभिजन टु मा राउन्ड रोविन लिगका अन्तिम तीन खेलमा चमत्कारिक प्रदर्शन गर्दै छनौट खेलमा स्थान बनाएको नेपालको सुरुवात राम्रँे भएन । तर अन्त्य भने सुखद रह्यो । समुह बी मा रहेको नेपालले सुरुवाती तीन खेलमा हार बेहोर्यो ।

जिम्बावे, स्क्टल्यान्ड र अफगानिस्तान संग हारेपछि सुपर सिक्समा नपुगेको नेपालले अन्तिम खेलमा हङकङलाइ हरायो । जसले नेपालको एकदिवशीय पाउने सपनालाइ मर्न दिएन् । कठिन परिस्थितीको सामना गर्दै जीत हात पार्नु नेपाली टिमको विषेशता हो । प्ले अफमा पपुवा न्युगिनीलाइ हराएपछि नेपाल अब विश्व क्रिकेटको असली मैदानमा प्रवेश गरेको छ । यहाँबाट नेपालका लागि अवसरै अवसरका धेरै ढोकाहरु खुलेका छन । नेपाल १२ टेस्ट खेल्ने राष्ट्र, नेदरल्यान्डस, स्कटल्यान्ड, युएईपछि आइसीसी वरियतामा १५ औं स्थानमा रहेको छ ।

एकदिवसिय मान्यता पाएपछि नेपालले के पाउछ त ? 
नेपालको एकदिवसिय मान्यता सन् २०२२ सम्म रहनेछ । यो चार वर्षे साइकलमा नेपालले अन्तर महादशीय कप खेल्ने मौका पाउनेछ । जुन चार दिवशीय प्रतियोगिता हो । यसलाइ टेस्ट मान्यता पाउने आधारमा रुपमा पनि हेरिन्छ । यहि प्रतियोगिताबाट अफगानिस्तान र आयरल्याण्डले टेष्ट मान्यता पाएका थिए ।

आइसीसीबाट प्राप्त हुने अनुदान रकममा बृद्धि हुनेछ । जसले नेपाली क्रिकेटको विकाशमा ठुलो अर्थ राख्छ ।

अब नेपालले प्रथम श्रेणीको क्रिकेट खेल्ने अवसर प्राप्त गर्नेछ । यदि दुई देश बीच सहमित भए नेपालले भारत, अस्ट्रेलिया जस्ता वलिया टिमहरु संग पनि खेल्न सक्छ । तर त्यसका लागि क्रिकेट बोर्डले आपसी सहमती गर्नुपर्ने हुन्छ ।

सन् १९९६ देखी अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपालले डिभिजन पाँच, चार हुदै एकदिवसिय मान्यतासम्मको यात्रा तय गरेको हो । तर यो सफलतालाइ नेपालले कसरी सदुपयोग गर्छ भन्ने प्रश्न भने यथावत छ । किनकी २०१४ मा ट्वान्टी ट्वान्टी विश्वकप खेलपछि नेपालको क्रिकेटले फड्को मार्ने आंकलन गरिएको थियो । तर क्यान निकम्मा हँुदा नेपाल त्यसपछिको विश्वकपमा छनौट हुन सकेन । टिमले एकदिवशीय अथवा टेस्ट मान्यता पाएपनि क्यानको समस्या समाधान भएन भने खेलाडीले हात पारेको यो सफलता बालुवामा पानि हालेजस्तो नै हुनेछ

खबर एक्सप्रेस