आज:  | Thu, 28, Sep, 2023

डमरुको डन्डिबियो अब हलमा

२०७५, १२ बैशाख बुधबार ०७:२७ मा प्रकाशित ( ५ साल अघि) ३३२१९ पाठक संख्या

काठमाडौं : नेपाली चलचित्रमा खेलकुदका विषय त्यति उठाइँदैन । लोकप्रिय खेल र स्टार खेलाडीको कथा केही मात्रामा आएका छन् । यही परिवेशमा अभिनेता खगेन्द्र लामिछानेले लोप हुन लागेको नेपाली मौलिक खेल डन्डिबियोमाथि स्क्रिप्ट तयार पारे । फिल्म तयार भयो । अब चलचित्र वैशाख २१ देखि प्रदर्शनमा आउने भएको छ ।

नेपालको मौलिक खेल डन्डिबियोलाई आधार बनाएर बनाइएको उक्त फिल्म खेलसँग सम्बन्धित भए पनि पारिवारिक ड्रामाले भरिपूर्ण रहेको यसका निर्देशक चेतन गुरुङले जानकारी दिए । फिल्म फरक विषयवस्तुमा बनेकाले यसका गीतले बाल्यकालको याद दिलाएको धेरैको प्रतिक्रिया छ ।

मुख्य कलाकार खगेन्द्र लामिछानले फिल्मका लागि आफूले एक महिनाको तालिम लिएको बताए । ‘डन्डिबियो खेल नेपालको राष्ट्रिय खेलबाट हटाइसके पनि डन्डिबियो संघ भने अझै छ’, उनले भने । पछिल्लो वर्ष डन्डिबियोको स्थानमा भलिबललाई नेपालको राष्ट्रिय खेल बनाइएको छ । नेपालका कतिपय ग्रामीण भेगका बालबालिकाले मनोरञ्जनका लागि यो खेल खेले पनि प्रायः नेपालीले खेल्न बिर्सिसके । यो खेललाई टलकजंग भर्सेस टुल्केका कलाकार लामिछानेले चलचित्रद्वारा एकपटक फेरि सम्झाउने भएका छन् ।

टलकजंग भर्सेस टुल्के र पशुपतिप्रसादबाट ठूलो फ्यान फलोइङ बटुलेका लामिछाने यो फिल्मले पनि सफलता पाउनेमा विश्वस्त छन् । चलचित्रका अर्का कलाकार अनुप बरालले डन्डिबियो बाल्यकालमा धेरै खेलेको सम्झिए । फिल्म एक करोड ५० लाख रुपियाँको लगानीमा बनेको हो । फिल्ममा मेनुका प्रधान, बुद्धि तामाङ, लक्ष्मी बर्देवा र अशान्त शर्माको अभिनय छ ।

खबर एक्सप्रेस