आज:  | Wed, 07, Dec, 2022

घरेलु मैदानमै रोकियो आर्सनल

२०७५, १५ बैशाख शनिबार ०२:३८ मा प्रकाशित ( ४ साल अघि) ३०४३० पाठक संख्या

लन्डन : युरोपा लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा इङ्लिस क्लब आर्सनल र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले बराबरी खेलेका छन् । बिहीबार राति भएको पहिलो लेगमा आर्सनलले १० खेलाडीमा सीमित एट्लेटिकोसँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले एट्लेटिकोसँग बराबरी खेल्न बाध्य भयो ।

आर्सनलका लागि एलेकजेन्डर लाकाजेट्टीले गोल गरेका थिए । एट्लेटिकोका लागि एन्टोइन ग्रिजम्यानले अन्तिम समयमा गोल फर्काउँदै बराबरी गरेका थिए । खेलको १०औंैं मिनेटमा सिम भर्सालजिकोले दोहोरो पहँेलो कार्ड सामना गर्दै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो । पहिलो हाफको सुरुवातमै पाहुना टोली १० खेलाडीमा सीमित भए पनि घरेलु टोली आर्सनलले त्यसको फाइदा लिन सकेन । बल पोजिसनमा पक्कड जमाएको आर्सनलले गोलका लागि दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

दोस्रो हाफको ६१ औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ८२ औं मिनेटमा घरेलु दर्शकलाई निराश तुल्याउँदै एट्लेटिकोका गिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल १-१ को बराबरीमा सकियो । बराबरीसँगै युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना दुवै टोलीले राखेका छन् । दोस्रो लेगको खेल एट्लेटिको घरेलु मैदानमा मे ४ मा हुनेछ । दोस्रो लेगमा जित निकाल्ने टोलीले मे १६ मा हुने फाइनलमा मार्सेली र साल्जवर्गबीचको विजेतासँग खेल्नेछ ।

मार्सिल्लेको सहज जित

अर्को खेलमा फ्रान्सेली क्लब मार्सिल्लेले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा मार्सिल्लेले अस्ट्रियाको रेडबुल साल्जवर्गलाई २-० गोलले पराजित ग¥यो । घरेलु मैदानमा भएको खेलमा मार्सिल्लेलाई जित दिलाउन फ्लोरियन थोउभिन र क्लिन्टन निजाईले एकएक गोल गरे । साल्जवर्गविरुद्ध जित निकाल्न मार्सिल्लेले दुवै हाफमा एक÷एक गोल गरेको थियो ।

पहिलो हाफको १५औं मिनेटमा फ्लोरिनले गोल गर्दै मार्सिल्लेलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६३औं मिनेटमा क्लिन्टनले गोल गर्दै मार्सिल्लेलाई २-० को सहज जित दिलाए । जितसँगै मार्सिल्लेले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । मार्सिल्लेले साल्जवर्गको घरेलु मैदानमा हुने दोस्रो लेगमा बराबरी खेले पनि फाइनलमा स्थान बनाउनेछ । साल्जवर्गलाई भने फराकिलो जित आवश्यक रहेको छ । दुई टोलीबीचको दोस्रो लेग मे ४ मा हुनेछ ।

खबर एक्सप्रेस