आज:  | Sat, 10, Dec, 2022

आइसिसी ११ खेल्न सन्दिप इङल्यान्ड जाँदै

२०७५, १५ जेष्ठ मंगलवार १२:४२ मा प्रकाशित ( ४ साल अघि) १३२०३ पाठक संख्या

जेठ १५ ।

आइपिएल खेलमा उत्कृष्ट खेल प्रस्तुत गरेका नेपाली क्र्रिकेटर सन्दिप लामिछाने नेपाल आएका छन् ।  व्यस्त सेड्युलका बाबजुत पनि नेपाल आएका सन्दिप लामिछाने भोलि इङलयान्ड जाँदै छन् । क्यारेबियन क्षेत्रमा आँधिका कारण भत्किएका रंगशालाको संरचना पूनर्निर्माणका लागि आईसिसीले आयोजना गरेको च्यारिटी खेलको लागि सन्दिप त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

खेल आईसिसी ११ र वेस्ट इन्डिजबीच मे ३१ तारिखमा क्रिकेटको मक्का मानिने लर्ड्समा हुने छ । आइसीसीले सो खेलको लागि विश्वभरबाट ११ खेलाडीको सुची तय गरेको थियो, जसमा अन्तिममा सन्दिप अटाएका थिए ।

बंगलादेशका अलराउन्डर तथा कप्तान सकिब अल हसनले टोलीबाट नाम फिर्ता लिएपछि आईसिसी ११ मा सन्दीपलाई समावेश गरिएको थियो। सन्दीपले खेल्ने आईसिसी ११ टोलीमा रसिद खान, साहिद अफ्रिदीजस्ता चर्चित बलर छन् । सन्दिप आइपिएलमा अनुबन्ध हुनु नै आइसीसी ११ मा पर्नु मुख्य कारण हुन सक्छ ।

आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट ३ खेल खेलेर १२ ओभर वलिङ गर्दै ५ विकेट लिएर ८२ रन मात्र दिएपछि सन्दिपको चर्चा विश्वभर भएको हो । सन्दीपले महेन्द्रसिंह धोनी, विराट कोहली, एबी डे भिलियर्स, सेन वाट्सन, सुरेश रैना लगायतविरुद्ध कसिलो बलिङ गरेका थिए।

केहीदिन अघि मात्र उनी नेपाल आएर गृहनगर चितवन गएका छन् । च्यारिटी लगत्तै सन्दिप वेष्टइन्डिजको चर्चित टि २० क्रिकेट प्रतियोगिता क्यारेवियन लिग खेल्न त्यसतर्फ जाने छन् ।

खबर एक्सप्रेस