आज:  | Wed, 07, Dec, 2022

साउन २३ देखि २७ गतेसम्म नेविसंघ महाधिवेशन

२०७५, २५ जेष्ठ शुक्रबार ०९:५४ मा प्रकाशित ( ४ साल अघि) २८५९२ पाठक संख्या

जेठ २५ ।
नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेवि संघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

उहाँले संघीयतामा देश गएको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकूल बनाएर मस्यौदा तयार भइरहेको बताउनुभयो । आगामी जेठ ३० गते नेविसंघको मस्यौदाबारे छलफल गर्न पूर्व केन्द्रीय अध्यक्ष र पदाधिकारीसँग छलफल समेत गर्ने भएको छ । अध्यक्ष महरले विधानलाई अन्तिमरुप दिन असार ३ गते सातवटै प्रदेशका राजधानीमा सुझाव संकलन गरिने बताउनुभयो । सुझाव संकलनका लागि नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारीसमेत दिएको छ । यसैगरी असार १ देखि सदस्यता वितरण गर्ने, असार २० देखि सबै शैक्षिक संस्था, स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने नेविसंघले जनाएको छ । नेवि संघका प्रवक्ता प्रेमराज जोशीले विसं २०७४ असोज ३१ को राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको वन्दसत्रबाट पास भएको समयअनुसार नेविसंघको महाधिवेशन सम्पन्न गर्न लागिएको जानकारी दिनुभयो ।

खबर एक्सप्रेस