यति खेर दुइ तिहाइको बल्लियो सरकारको अर्थमन्त्रालय पुर्व गवर्नर डा.युवराज खतिवडाको नेतृत्वमा छ 1 केहि समय अघि बजेटको अर्ध-वार्षिक समिक्षा सम्मनन भएको थियो I त्यहि सेरोफेरो मा रहेर बजेटको अर्ध-वार्षिक समीक्षा हुदाँ – अर्थतन्त्रको अवस्था कस्तो रहेछ ?हामीले अर्थतन्त्रलाई समस्तमा कसरी बुझ्ने भन्ने विषयमा अर्थमन्त्री डा.युवराज खतिवडासंग गरिएको कुराकानीको केहि अंश I
प्रश्न : अर्थ मन्त्रालयले हालै बजेटको अर्ध-वार्षिक समीक्षा गरेको छ I अहिलेको अर्थतन्त्रको अवस्था कस्तो रहेछ ?
उत्तर : सम्पूर्ण आर्थिक क्रियाकलापहरु उत्साहजनक छन् I आर्थिक क्षेत्रमा कृषि, उद्योग, पर्यटन, व्यवसाय, सेवा क्षेत्रहरु, बैंकिंग वित्तीय क्षेत्र, व्यापार क्षेत्रहरु सबै पर्छन् I यी सबै क्षेत्रको आर्थिक वृद्धि राम्रो छ I त्यसले गर्दा समग्र आर्थिक क्रियाकलाप सहि बाटोमा र अघिल्ला आर्थिक वर्षको भन्दा माथिल्लो तहमा वृद्धि भइरहेको छ I त्यो आर्थिक बृद्धिले स्वभाविक रुपमा मुल्यमा चाप पार्न सक्छ I तर, अहिले भने यो समस्या छैन I
अहिले हाम्रो आपूर्ति व्यवस्था अलि बलियो भएको कारणले र खास गरी कृषि उत्पादन राम्रो भएको कारणले चाप छैन I मुद्रास्फीति ४ देखि ५ प्रतिशतको बीचमा छ I खाद्य वस्तुहरूको मूल्य वृद्धि ३ प्रतिशतभन्दा तल छ I
त्यसपछी रोजगारीको हिसाबले हेरौं I रोजगारीका परिसूचकहरुले के देखाई रहेका छन् भने रोजगारीका अवसर सृजना भई रहेका छन् I खासगरी बैंकको कर्जाको प्रवाहको संरचना हेर्दा निजि कम्पनीहरु दर्ता भई रहने क्रम, उद्यमको क्षमता बिस्तार, पर्यटनको क्षमता बिस्तार र बैंक कर्जाको स्वरोजगार सिर्जना गर्ने क्रममा हामीले लिएका बजेटका नीति समेतको कारणबाट सृजना भएका स्व-रोजगारीकाअवसर अनि बैदेशिक रोजगारीमा जाने क्रेज क्रमश: घट्दै छ I यो सबै परिसूचकले रोजगारीका अवसरहरु नेपाल भित्र थप सिर्जना हुँदै गएको स्वतः स्पष्ट हुन्छ I सरकारी वित्तीय स्थिति सन्तुलनमा छ I बजेट कार्यान्वयनको ६ महिनामा करिबकरिब हामीसँग अहिले ७९ अर्ब जति रकम बचत छ I
अघिल्लो आर्थिक वर्षमा झण्डै १ सय १५ अर्ब आन्तरिक ऋण लिँदा पनि यति बचत थिएन I अहिले अन्तरिक ऋण परिचालन नगरी बचतमा छौँ I
खर्चको बृद्धिदर सामान्य हो I अघिल्लो वर्षको कुल खर्चको तुलनामा कम देखिए पनि अघिल्लो वर्ष निर्वाचनको बजेट पनि त्यहाँ जोडिएको छ I त्यसैले त्यसको प्रत्यक्ष तुलना हुदैंन I प्रदेश र स्थानीय तहले पठाउने गरेको बजेट बिनियोजन, राजस्व अधिकार दिईएको खर्च अहिलेका हाम्रा बजेटमा जोडिएको छैन I पुँजीगत खर्च बढेको छ I पुँजीगत खर्च पौषमा भन्दा माघमा र माघमा भन्दा फाल्गुनमा अझ धेरै सुधारोन्मुख रुपमा अघि बढेको छ I वित्तीय व्यवस्थामा पनि अघिल्लो वर्षको भन्दा धेरै परिवर्तन आएको छ I
आर्थिक वर्षको अन्त्यसम्म आर्थिक लक्ष्यको नजिक पुग्छौं I कुनै वर्षको बजेट १०० प्रतिशत खर्च हुने भन्ने कुरा आर्थशास्त्रमा एउटा आदर्श कल्पना मात्रै हो I ९५ प्रतिशतभन्दा माथि बजेट खर्च हुनु भनेको लगभग सतप्रतिशत खर्च हुनु हो I करीब ९७ प्रतिशत राजश्व परिचालन हुने, चालु खर्च त्यस्तै ९५ प्रतिशत भन्दा माथि हुने, पुँजीगत खर्च पनि ९५ प्रतिशत हाराहारी हुदाँ करीब ९२ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ I
समग्र वित्तीय प्रणालीमा धेरै कर्जाको माग छ I त्यो भनेको शुभ संकेत हो I व्यावसायिक क्षेत्रमा कर्जाको माग बढेको कारणले बैंक कर्जाको माग बढ्यो I यसले गर्दा व्याजदर अलि बढेको छ I यो एक सुखद समस्या हो I आर्थिक क्रियाकलाप नै विस्तार नहुने, ऋणकै माग नहुने अनि बैंकहरु अधिक तरलतामा हुने, ब्याजदर खस्केर ६ प्रतिशतमा लगानी गर्नुपर्ने अवस्था आउने भए पो संकटको अवस्था पनि सकिन्थ्यो I त्यस्तो संकटकोअवस्थामा हामी छैनौँ I
यति धेरै आर्थिक क्रियाकालाप भई रहेको बेला हामीले बुझ्नु पर्ने कुरा के हो भने थप तरलता हामीले प्रवाह गरेर ब्याजदरलाई व्यवस्थित गर्नु पर्ने छ I त्यो काम हामी गर्दैछौँ I
प्रश्न : हामी मध्य धेरैले महसुस गरेको कुरा – सेयर बजार, घर जग्गा व्यवसायको क्षेत्रमा उत्साह पहिले जस्तो छैन I यस विषयलाई कस्तो दृष्टिकोणले बुझ्न सकिन्छ ? हामीले कस्ता क्षेत्रमा लगानी गर्ने त ?
उत्तर : अर्थमन्त्री डा.युवराज खतिवडाले बताए अनुसार, हामीले के बुझ्नु पर्छ भने अस्वाभाविक उपभोग्य बस्तुहरु जसले उत्पादन बढाउदैन, त्यस्ता वस्तुहरुको माग बढाएर हामी के चाहिं पाउछौं ? जुन बेला हाम्रो व्यापार घाटा बढी रहेको छ , जुन बेला हाम्रो सुधानअन्तरमा चाप बढी रहेको छ I खासै केहि पाउदैनौं I
उत्पादनशील क्षेत्रको कुरा गर्ने हो भने कुनै खास उद्योगको कुनै खास वर्ष सन्चय ‘इन्वेन्टरी’ धेरै भएर अर्को वर्ष उत्पादन कम गर्ला I पुजीगत खर्च कम भएको कारणले ‘इन्वेन्टरी’ उद्योगहरुमा रहेको होला र उद्योगले केहि समय उत्पादन कम गरेको होलान तर समग्रमा उत्पादनको क्षमता बढेको छ I औधोगिक उत्पादन बढेको छ I
सेयर बाजारमा लागानीकर्ताहरुलाई जब बैंकको नाफा बढी छ, उद्योगहरु समस्तमा राम्रो चलेका छन्, व्यवासायहरु राम्रा छन् भने सेयर बजारमा लागानी गर्नेहरु निरुत्साहित किन ? सरकारले कर सम्बन्धिक, कारोबार सम्बन्धित धेरै कुरामा सुधार गरेको छ I त्यसैले लगानी गर्ने बेला हो यो I क्रेताले किन्दिए पछी त्यो सेयर बढ्ने हो I किन्ने ठाँउमा केहि समस्या भए त्यो सरकारले हेर्दिने हो I
घरजग्गाको विषयमा कुरा गर्दा, यसको मुल्य कति चर्किनु पर्ने ? घर जग्गाको व्यवसाय गर्नेको एउटा दृष्टिकोण होला तर समस्तमा कुनै जग्गा किनेर होटेल चलाउनु पर्यो, उद्योग चलाउनु पर्यो, सरकारले क्षतिपुर्ती दिएर निर्माण गर्नु पर्यो I अहिले हामी त्यसो गर्ने अवस्थामा नै छैन I त्यसो हुदाँ, यस्तो बजारलाई असिमित रुपमा लैजानु ठिक हो त ? यो क्षेत्रको न आकार बढ्छ, न लम्बाई बढ्छ, न चौडाई बढ्छ, न केहि बढ्ने हो I कुनै पनि बजारलाई स्वभाविक रुपमा बढ्न दिनु पर्छ तर अस्वभाविक रुपमा बढे अन्य सबै आर्थिक क्रियाकलावलाई समस्यामा पार्छ I र अन्त्यमा त्यो आफै पनि समस्यामा जान्छ I त्यसरी त न उद्योग व्यवसाय बाकीं रह्यो, न घर जग्गा व्यवसाय नै बाकि रह्यो I
२०६५ / ६६ साल देखि नै यसलाई व्यवस्थित ढंगले विकास गर्न खोजेका हौँ I अहिले पछिल्लो चरणमा घर जग्गा सम्बन्धित केहि समस्या त छन् I कतिपय कुराहरु कानुन नै मिलाउनु पर्ने विषयहरु पनि छन् I ती विषयहरुमा कानुन संसोधन गर्ने क्रममा सरकार अघि बढिरहेको छ I
त्यसैले अहिले अर्थमन्त्रीको आग्रह के छ भने लागानीको लागी हामीले मुल्य वृद्धिको क्षेत्रहरु नै खोजौं I यस्ता क्षेत्र खोजौं जसले रोजगारी बढाओस्, मुलुकमा भएका कच्चा पदार्थ प्रयोगमा आओस् र जसले निर्यात बढाउने काम गरोस I