आज:  | Fri, 29, Mar, 2024

नेपाली काँग्रेसमा केन्द्रिय सदस्यहरू थपिँदै

२०७६, ६ आश्विन सोमबार २१:३२ मा प्रकाशित ( ४ साल अघि) १४५०९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस र तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच दुई वर्षअघि भएको एकीकरणले पूर्णता पाउने भएको छ । आइतबार नेपाली कांग्रेसको कार्यालयमा बसेको समायोजन बैठकमा महत्वपूर्ण सहमति भएको छ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिमा तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू महेश आचार्य , डा. प्रकाशशरण महत र दीपक गिरी सदस्य छन् ।
समाचार स्रोतका अनुसार तत्कालीन फोरम लोकतान्त्रिकका १३ जनालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनाउने सहमति भएको छ । तत्कालीन अध्यक्ष गच्छदार नेपाली कांग्रेसको संसदीय दलको उपनेता तथा पार्टीको उपसभापति बनिसकेका छन् । समायोजनमा ढिलाइ हुँदा तत्कालीन फोरम लोकतान्त्रिकका नेताहरूले नेपाली कांग्रेसका कुनै पनि कार्यक्रममा सहभागी नहुने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । एकीकरण भएको दुई वर्ष पुग्न लाग्दासमेत भूमिकाविहीन हुन परेकोमा फोरमबाट कांग्रेसमा समायोजन भएका नेता तथा कार्यकर्तामा विस्तारै जोश जाँगर हराउन थालेको थियो ।
यसैगरी, स्थानीय तहको संगठनमा पनि समायोजनको खाका तयार भएको छ । एक सयजनाको आसपासमा क्रियाशील सदस्य रहेका जिल्लामा फोरमका तर्फबाट एक सहसचिव सहित दुईजना सदस्यको प्रतिनिधित्व गराउने सहमति भएको छ । त्यसभन्दा बढी क्रियाशील सदस्य रहेका जिल्लामा भने संख्याको अनुपातमा प्रतिनिधित्व गराइनेछ । खासगरी तराईका प्रायःजसो जिल्लामा फोरमले उपसभापति र सहसचिव पाउने भएको छ ।
प्राप्त जानकारीअनुसार सुनसरी जिल्लामा उपसभापति र सहसचिवसहित १३ जना, मोरङमा उपसभापति र सहसचिवसहित १५ जना, कैलालीमा उपसभापति र सहसचिवसहित तीनजना, बर्दियामा उपसभापति र सहसचिवसहित ६ जना, सप्तरीमा उपसभापति र सहसचिवसहित नौजना फोरमले पाउने छ । यसैगरी, रुपन्देही र झापामा उपसभापति र सहसचिवसहित पाँचजना, धनुषा र बाँकेमा सहसचिवसहित ६ जना, पर्सा, काभ्रे, दाङ र सर्लाहीमा एक पदाधिकारीसहित पाँचजना फोरमले पाउने छ ।

खबर एक्सप्रेस