आज:  | Sat, 23, Mar, 2024

बडा दशैंको आज छैटौं दिन

२०७६, १७ आश्विन शुक्रबार २०:४८ मा प्रकाशित ( ४ साल अघि) ११३४७ पाठक संख्या

बडा दशैंको आज छैटौं दिन आज नवदुर्गाका स्वरुपाहरु मध्ये कात्यायनी देवीकोे पूजाआजा गरियो । घटस्थापना गरेसँगै नवदुर्गाका नौं वटा रूपहरू को पूजा गर्ने धार्मिक चलन छ । आज देवी दुर्गाका स्वरूपामध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा गर्ने प्रचलन छ । आज कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको छ । हिन्दु धर्मशास्त्रमा उल्लेख भए अनुसार प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख छ ।
दशैको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गर्ने प्रचलन छ ।

आजपनि देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा बिहानैबाट भक्तजनहरुको भीड लागेको थियो । राजधानीको मैतीदेवी,गुहेश्वरी, दक्षिणकाली, शोभाभगवती, कालिकास्थान, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको ठुलो भिड लागेको थियो । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भिड लागेको थियो ।

खबर एक्सप्रेस