आज:  | Thu, 25, Apr, 2024

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक २ र ३ गते

२०७६, १ कार्तिक शुक्रबार ०९:५७ मा प्रकाशित ( ४ साल अघि) १३३३१ पाठक संख्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा देश भरका सबै स्थानीय तहले कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छन्। जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल) र ६ महिनादेखि दुई वर्षसम्मका चार लाख बालबालिकालाई बालभिटा खुवाइनेछ। त्यस्तै पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइनेछ। भिटामिन ‘ए’ कार्यक्रमका लागि सात सय ५३ वटै पालिकाका ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिनेछ।
नेपालमा सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरु भएको थियो। विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ भने ‘भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ।’

भिटामिन ‘ए’ किन आवश्यक
बालबालिकालाई रोगसँग लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यक पर्छ। खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने गरीन्छ सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्ने अल्वान्डाजोल खानापछि खुवाइने छ। जुकाका कारण रक्तअल्पता, एनेमिया, खाना नपच्ने हुन्छ। त्यस्तै बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ। हाल पाँचवर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा छन्। पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहारा बारेमा जानकारी दिइने छ। बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ। यो राष्ट्रिय कार्यक्रमका लागि चाहिने आवश्यक तयारी सम्पूर्ण पूरा भएको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ।

खबर एक्सप्रेस