नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो बर्षको भाइटीकाको शुभ साइत कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे उत्तम रहेको जानकारी गराएको छ । कात्तिक १२ गते मङ्गलबार दिनभर पनि टीका लगाउदा बाधा नपर्ने भएता पनि साइत खोज्नेका लागि मुहूर्तको शुभ साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराईएको छ ।
कात्तिक ८ गते यमपञ्चक शुक्रबारदेखि शुरु हुनेछ भने त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ सोही दिन धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि परेको छ । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औशी तिथि लाग्नेछ ।
गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि परेको छ । त्यसपछि कात्तिक ११ गते सोमबार कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।
कात्तिक १२ गते भाइटीका कै दिन यस वर्ष नेपाल सम्वत नेपाल संवत् ११४० शुरु हुने समितिले जनाएको छ ।