आज:  | Sun, 24, Mar, 2024

कार्तिक २९ मा चलचित्र “मिस्टर नेपाली”

२०७६, १५ कार्तिक शुक्रबार ०९:१५ मा प्रकाशित ( ४ साल अघि) १६३६९ पाठक संख्या

सुदिप पौडेल 

अभिनेता भुवन केसी दोहोरो भूमिका रहेको “मिस्टर नेपाली” कात्तिक २९ गतेबाट देशभरका सिनेमा हलहरुमा आउने भएको छ । लोक फ्लेवरको गीत “नाचौँ न छम्म छम्म” र परदेशीको पीडा मिसिएको मार्मीक ‘हे मेरा परदेशी दाजु भाई’ बोलको गीत र हालै सार्वजनिक भएको ट्रेलरमा राष्ट्रियता, प्रेम र पारिवारिक कथाका कारण चलचित्रले यति बेला सिने क्षेत्रमा ब्यापक चर्चा पनि कमाएको छ ।

विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र स्थानीय स्तरमा राजनीतिलाई टेकेर हुने शोषणमा चलचित्र आधारित रहेको तथा फिल्मले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरिएकाले फिल्म उत्कृष्ट बनेको निर्देशक देव भुषालको दाबी छ । देव भुषालले लेखन, निर्देशन तथा उनकै पटकथा र संवाद रहेको चलचित्रमा अभिनेता भुबन केसी, रीमा विश्वकर्मा, बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोल , नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

देवचुली फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । अवसर र रोजगारीका लागि जुनसुकै देशमा रहेपनि नेपाली नेपाली नै रहन्छ’ भन्ने मुल मर्म चलचित्रले प्रस्तुत गरिएको छ । चलचित्रको छायांकन निरज कँडेलले गरेका छन् भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।प्रेमराज दाहालको लगानी रहेको चलचित्रका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् ।

खबर एक्सप्रेस