नेपाली महिला भलिबलले सागमा स्वर्ण जितेर इतिहास रच्ने अवसर गुमाएको छ नेपाली महिला भलिबल टिमका प्रशिक्षक र कप्तान दुबैले चौथो सेटमा जित नजिक पुगेर पनि ससनो गल्तीका कारण हार्न पुगेको प्रतिक्रिया दिएका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा मंगलबार नेपाल भारतसँग ३-२ ले पराजित भएको थियो । पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार दुई सेट जितेको थियो । प्रतिस्पर्धात्मक चौथो सेट गुमाएसँग नेपालको लय बिगि्रयो र पाँचौं सेटमा भारतले सहज जित निकाल्यो ।
कप्तान अरुणा शाहीले पनि भारतलाई कडा टक्कर दिँदादिँदै ससानो गल्तीका कारण हार्न पुगेको बताइन् । ४ महिनाको प्रशिक्षणले नेपाली टिमले भारतलाई टक्कर दिन सक्ने भएको भन्दै उनले अघि भनिन्, ‘यो टिमलाई निरन्तर प्रशिक्षण गराएर खेल्यौं भने अर्काे सागमा हामी पक्कै जित्छौं ।’