आज:  | Tue, 16, Apr, 2024

नागरिकता कानुनको विरोधमा भारतको विभिन्न राज्यमा प्रहरीको निषेधाज्ञा तोड्दै हजारौको प्रदर्शन

२०७६, ५ पुष शनिबार ०९:१७ मा प्रकाशित ( ४ साल अघि) १४३५४ पाठक संख्या

नागरिकता कानुनको विरोधमा भारतको विभिन्न राज्यमा प्रहरीको निषेधाज्ञा तोड्दै हजारौले प्रदर्शन गरीरहेका छन्।

उत्तर प्रदेशका बुलन्दसहर, मेरठ, मुजफ्फरनगर लगायत १५ जिल्लामा प्रदर्शनले हिंसात्मक रूप लिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् भने सार्वजनिक गाडीहरूमाथि आगो लगाइएको छ।

दिल्लीमा पनि प्रहरी अवरोधका बाबजुद ठाउँ–ठाउँमा नागरिकता कानुनविरुद्ध प्रदर्शन भै रहेको छ भने जामा मस्जिदमा हिजो शुक्रबारको प्रार्थनापछि भीम आर्मी प्रमुख चन्द्रशेखर आजादको नेतृत्वमा विशाल जुलुस निस्क्यो। आजाद आन्दोलन सुरू भएदेखि प्रहरी निगरानीमा थिए।

प्रहरीको आँखा छल्दै उनी प्रार्थना सकिने बित्तिकै जामा मस्जिदको एक नम्बर गेटमा पुगे। त्यहाँ उनलाई प्रहरीले नियन्त्रणमा लिए पनि फुत्किन सफल भएका थिए।

विरोध प्रदर्शनमा मान्छे जमघट हुन नपाओस् भनेर मोबाइल, एसएमएस र मेट्रो सेवा रोक्ने काम शुक्रबार पनि जारी रह्यो।

उत्तर प्रदेशका थुप्रै भाग, दिल्लीका केही भाग र कर्नाटकाको दक्षिण कन्नाडामा पनी इन्टरनेट र एसएमएस सेवा बन्द गरियो। आसाममा भने नौ दिनपछि इन्टरनेट सेवा चालू गरिएको छ।

दिल्लीमा राजीव चोक, केन्द्रीय सचिवालय, प्रगति मैदान, जनपथ, खान मार्केट लगायत १३ मुख्य इलाकामा मेट्रो स्टेसन बन्द गरियो। आवागमन रोकेर प्रदर्शन निस्तेज पार्न बिहीबार पनि दिल्लीमा मेट्रो सेवा आंशिक बन्द गरिएको थियो। यसले मान्छेलाई एकजुट भएर प्रदर्शनमा भाग लिनबाट रोकेको छैन।

तामिलनाडुमा विरोध प्रदर्शनमा भाग लिएको भन्दै ६ सयभन्दा बढीलाई प्रहरीले मुद्दा दायर गरेको छ। यसमा अभिनेता सिद्धार्थ, संगीतकार टिभी कृष्णा, लोकसभा सांसद थोल थिरुमाभलवन, पूर्व विधानसभा सांसद एमएच जवाहिरुल्लाह लगायत छन्। दिल्लीमा गृहमन्त्री अमीत शाहको घरअगाडि विरोध गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

भारतको दुवै सदनले ‘मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरी’ नागरिकता कानुन पारित गरेपछि मोदी सरकारले अहिलेसम्मकै सबभन्दा ठूलो विरोध खेप्नुपरेको हो।

कानुन पारित हुनुअघि नै आसाममा ठूलो विरोध भएको थियो। यसका बाबजुद मोदी सरकारले संसदमा विचाराधीन विधेयक फिर्ता लिएन। विपक्षीहरूको तीव्र विरोधबीच बहुमतका आधारमा कानुन पारित गर्‍यो।

लगत्तै गत आइतबार राति नयाँदिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडले नागरिकता कानुनविरूद्ध सल्केको आगोमा घिउ थप्ने काम गरेको छ, जसको राप देशव्यापी रूपमा फैलिँदै छ।

बिहीबार कर्नाटकाको मेंगलुरूमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा दुई जनाको ज्यान गएको थियो। उत्तरप्रदेशको लखनउमा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो।

खबर एक्सप्रेस