माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत बङ्गलादेश सरकारले खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युतमध्ये ५०० मेगावाट विद्युत खरीद गर्ने निर्णय भएको हो । जिएमआरका निर्माण परियोजना प्रमुख केके शर्माले विद्युत खरीद सम्झौता गर्ने निर्णय भएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बंगलादेश सरकारले जिएमआरको विद्युत भारतीय विद्युत व्यापार कम्पनी एनभिभिएनमार्फत खरीद गर्नेछ ।
बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरीद समितिले विद्युत खरीद गर्ने निर्णयलाई स्वीकृत गरेको छ । निर्णय अनुसार बंगलादेशले प्रतियुनिट ७.७ सेन्टमा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत खरीद गर्नेछ । निर्णयपछि बंगलादेशले २५ वर्षसम्म विद्युत खरीद गर्नेछ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उतपादित विद्युत खरीद गर्ने निर्णय भएसँगै नेपालमा उत्पादित विद्युत बंगलादेश लैजाने मार्ग प्रशस्त भएको छ । स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल (इपान)ले गत महिन आयोजना गरेको पावर समिटमा भाग लिन आउनु भएका बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले माथिल्लो कर्णालीको विद्युत खरीद सम्बन्धी निर्णय छिट्टै हुने बताउनुभएको थियो । उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको भेटमा आफूहरू नेपालमा उत्पादित विद्युत बंगलादेश लैजान आतुर रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्यमा जोड दिनुभएको थियो