आज:  | Tue, 26, Sep, 2023

१९औ सशस्त्र प्रहरी स्थापना दिवस सम्पन्न

२०७६, ९ माघ बिहीबार २३:१२ मा प्रकाशित ( ३ साल अघि) १००४५ पाठक संख्या

काठमाडौं, ९ माघ– प्रधानमन्त्री केपी शर्मा ओलीले १९औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्नुहुँदै विकसित मुलुक बनाउनका लागि सरकार लागि परेको बताउनु भएको छ । उहाँले सुशासन र कानुनी राजको स्थापना गर्दै विकसित मुलुक बनाउन सरकार लागि परेको बताउनु भएको हो ।

उहाँले मुलुक सुन्दर मात्र नभएर सबल, सुशासन र समृद्ध हुनुपर्नेमा जोड दिनुभयो । ‘राष्ट्र सुन्दर मात्र होइन, सबल, शान्तिपूर्ण र विकसित हुनुपर्छ । जहाँ विकास, समृद्ध, आधुनिकता, एकता र सुख भएको मुलुक निर्माण गर्ने कार्यमा सबैको प्रयास आवश्यक छ । आफ्ना प्रयासहरुलाई अझै तिव्रताका साथ अघि बढाउन जरुरी छ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाँले अहिले सुशासन र कानुनी राजको स्थापनामा पनि सरकारले तिव्रताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । ‘राजनीतिक परिवर्तनलाई संस्थागत गरेर संविधानसमेत जारी गरी संविधान कार्यान्वयन गर्ने र संविधान कार्यान्वयनसँगै जनताको सार्वभौमसत्ताको वास्तविक प्रत्याभूति दिलाउने, जनताप्रति उत्तरदायी प्रणालीको विकास गर्ने, कानुनी राजको कार्यान्वयन र सुशासनका साथ अघि बढेर मुलुकलाई गरिबी, निरक्षरता, पछौटेपनबाट मुलुकलाई मुक्त गर्ने अभियानमा जुटेका छौं’, उहाले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगहरु सुशासन र विकासका कार्यहरुलाई अघि बढाउने काममा आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह समेत गर्नुभयो । सशस्त्र प्रहरी बललाई राज्यले धान्‍न सक्ने क्षमताको सुविधा, दक्षता, तालिम र अवसर कसरी उपलब्ध गराउन सक्छौं भन्‍नेतर्फ सरकारको ध्यान गएको बताउनुभयो ।

खबर एक्सप्रेस