आज:  | Sun, 26, Mar, 2023

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ८० प्रतिशत काम सम्पन्न

२०७६, २८ माघ मंगलवार १९:५१ मा प्रकाशित ( ३ साल अघि) २५२३५ पाठक संख्या

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रताका साथ अगाडि बढिरहेको छ । अहिले कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ भनेर जमिन भित्रको अवस्था पत्ता लगाउने महत्वपूर्ण भौगर्भिक (सेस्मिक) सर्भेको काम जारी रहेकोछ । सर्भेको लगभग ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यहाँको पूर्वपश्चिम र उत्तरदक्षिणका विभिन्न भू–भागमा करीब २०० किलोमिटर क्षेत्र समेटेर १० स्थानमा शुरु गरिएको सर्भेका सात स्थानको काम सम्पन्न भइसकेको छ । करीब ४५ फिट मुनिसम्म खनिएको होलमा विस्फोटक पदार्थ राखेर कृत्रिम भूकम्पीय तरङ्ग उत्पन्न गरिएको र सोबाट प्राप्त भएको सबै सूचना सङ्कलन गर्ने कार्य सेस्मिक मिटरमा भइसकेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिनुभएको छ ।

सर्भे सकिएपछि यसको अध्ययनका लागि तीन महिनाको समय लाग्ने छ । सो अवधिपछि धेरै सम्भावना भएको मुख्य भण्डारणको क्षेत्रमा पुनः करीब चार किलोमिटर जमिनमुनिको भू–भागमा मुख्य ड्रिलिङ गरिने र त्यसपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा पत्ता लाग्ने उहाँले जानकारी दिनुभयो । एउटा लाइनमा ४०० वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको छ । दैलेखको पश्चिम भूभागमा गरिएको सेस्मिक सर्भेका लागि दुल्लु नगरपालिकामा क्याप निर्माण गरेर विज्ञहरुको समूह बसेका छन् । यस कार्यलाई यहाँका जनता र जनप्रतिनिधिले स्वागत गरेको छन् ।
अन्वेषणको प्रक्रिया शुरु हुँदै गर्दा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएकाले दैलेखको भूभागमा ग्याँस र पेट्रोलियम पदार्थ दुवै हुनसक्ने सम्भावना बढ्दै गएको छ ।
विदेशका अन्य भूभागमा गरिएका सर्भेलाई आधार मान्ने हो भने छिद्र देखिएका स्थान र ग्याँस निस्किएका स्थानकै आसपासमा भण्डारण भेटिएकाले दैलेखको भूभागमा पनि भण्डारणको सम्भावना भएको अन्वेषण अधिकृत डा त्रिपाठीले बताउनुभयो ।
दैलेखका धेरै स्थानमा जमिनमुनिबाट छिद्रका रुपमा हजारौँ स्थानमा पानीभित्र फोकाहरु भुलभुल गरेर आएको देखिन्छ । कतिपय स्थानमा ग्याँस नै बलेको अवस्थामा देखिएको छ । यसको विश्लेषण गर्ने हो भने पनि दैलेखको कुनै भूभागमा भण्डारण हुनसक्ने विज्ञहरुको भनाइ छ ।

खबर एक्सप्रेस