आज:  | Mon, 25, Sep, 2023

कर्णाली प्रदेश विकास परिषदको बैठक

२०७६, २९ माघ बुधबार ०८:२७ मा प्रकाशित ( ३ साल अघि) १०३२४ पाठक संख्या

कर्णाली प्रदेश विकास परिषदको बैठक ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ सम्पन्न भएको सकिएको छ ।

कर्णाली प्रदेश विकास परिषदका अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा बसेको बैठक प्रथम पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि बैठकमा सहभागी परिषद् सदस्यहरुले आधार पत्रका बारेमा आ-आफ्ना सुझाव राखेका थिए । बैठकमा ४३ जना परिषद् सदस्यहरुले सुझाव राखेका थिए ।

बैठकमा बोल्दै परिषद अध्यक्ष एवम् मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखारी कर्णालीवासी बनाउने दायित्व सबैको भएको बताए । उनले समृद्ध प्रदेशको एजेण्डामा सबैको एकता आवश्यक भएको बताउँदै रचनात्मक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शाहीले कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीरतापूर्वक लागेको बताउँदै ५ वर्षमा एक हजार १४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार एक सय डलर पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढेको बताए । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान बमोजिम गठित प्रदेश विकास परिषदको शुक्रबार सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, कर्णाली प्रदेश सभाका संसदीय दलका नेताहरु, संसदीय समितिका अध्यक्षहरु, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिवहरु, कर्णाली प्रदेश भित्रका सबै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

खबर एक्सप्रेस