आज:  | Wed, 17, Apr, 2024

चलचित्र ‘सेन्टी भाइरस’ को आक्रामक सुरुवात

२०७६, १० फाल्गुन शनिबार २०:५४ मा प्रकाशित ( ४ साल अघि) १२५८७ पाठक संख्या

शुक्रबार महाशिवरात्रीको सार्वजनिक विदाको अवसर पारेर देशभर प्रदर्शनमा आएको चलचित्र‘सेन्टी भाइरस’ले सुस्ताएको नेपाली चलचित्र बजारलाई राहत दिएको छ ।

कलाकारिता हुँदै सामाजिक कार्यमा होमिएको जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पहिलो पटक ठूलो पर्दामा स्क्रिन साझेदार गरेका कारण यो फिल्म दर्शकमाझ लामो समयदेखि प्रतिक्षामा थियो।

प्रदर्शनको पहिलो दिन (शुक्रवार) नै एक करोड बाह्र लाख कमाउँदै बम्पर ओपनिङ गरेको फिल्मले शनिवार पनि आक्रामक कमाईको दौड जारी राखेको छ । शनिवार फिल्मले कमाईमा ठूलो उछाल कायम गर्ने वितरकको भनाई छ ।

यसअघि फिल्मको आम्दानीको ५० प्रतिशत रकम भरतपुरमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खर्चिने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन् । यो घोषणाका कारण पनि फिल्मले हलमा दर्शकको ठूलो भीड तान्न सफल भएको अनुमान गरिएको छ । ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली फिल्मको व्यापार ‘सेन्टी भाइरस’ ले धेरै हदसम्म चलायनमान बनाएको छ ।

शुक्रवार फिल्मले मल्टीप्लेक्स र सिंगल थिएटर दुवैतर्फ दर्शकको राम्रो साथ पाएको थियो । पहिलो दिनको तुलानामा शनिवार हलमा फिल्म हेर्ने दर्शकको अत्याधिक चाप देखिएको छ । शनिवार दिउँसोको शोमा फिल्मको टिकट समेत अभाव भएको हल सञ्चालकले बताएका छन् । मल्टीप्लेक्सहरुमा उच्च सोज पाएको फिल्म हेर्न युवा पुस्ताका दर्शक हलमा बढी देखिएका छन् ।

शुक्रवार र शनिवार फिल्मका प्रमुख कलाकार ‘धुर्मुस सुन्तली’ राजधानीका गोपीकृष्ण, अष्टनारायणलगायतका हल पुग्दा उनीहरुसँग सेल्फी खिच्न र हात मिलाउन दर्शकको ठूलो भीड लागेको थियो । भने, दर्शकले ‘सेन्टी भाइरसकी जय’ भन्दै नारा लगाएका थिए । फिल्म हेरेर रंगशाला निर्माणमा सहयोग गरेको भन्दै ‘धुर्मुस सुन्तली’ ले दर्शकलाई धन्यवाद दिएका छन् ।

विभिन्न हलहरुमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका कलाकार सितारामले फिल्म हेर्दै गर्दा राष्ट्रका लागि पनि योगदान हुने बताए । फिल्म हेर्न हलमा गएका दर्शकलाई सम्बोधन गर्दै उनले भने- ‘तपाईंहरुले फिल्म हेरेर मनोरञ्जन लिनुका साथै क्रिकेट रंगशाला निर्माणका लागि पनि सहयोग हुनेछ । तपाईंहरुले फिल्मलाई दिनुभएको साथप्रति हामी नतमस्तक छौं ।’

त्यस्तै, कलाकार कुञ्जना घिमिरेले फिल्म हेरेर रंगशाला निर्माण अभियानमा जोडिएकोमा दर्शकहरुलाई धन्यवाद दिइन् । उनले भनिन्, ‘रंगशालामा तपाईंहरुको पनि अपनत्व होस् भन्नका लागि हामीले यो फिल्म लिएर आएका हौं । तपाईंहरुले फिल्मलाई दिनुभएको साथप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । यो फिल्मबाट मेरो २८ वर्षपछि अभिनेत्री बन्ने सपना पनि पूरा भएको छ ।’

राजधानीसँगै मोफसलका प्रमुख स्टेशनहरु पोखरा, बुटवल, विर्तामोड, इटहरी, दमक र चितवनका पर्दाहरुमा पनि फिल्म शुक्रवार र शनिवार हाउसफुल रहेको वितरकले जानकारी दिएका छन् । दुई दिन परेको सार्वजनिक विदाको फाइदा फिल्मले बक्सअफिसमा गजबले उठाएको छ । आइतवारबाट भने फिल्मको कमाई कस्तो हुने भन्नेमा वर्ड अफ माउथले निर्धारण गर्नेछ ।

फिल्ममा ‘धुर्मुस सुन्तली’ का अलावा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्मका गीतमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाले संगीत भरेका छन् ।

खबर एक्सप्रेस