आज:  | Mon, 15, Apr, 2024

फिल्मको स्क्रीप्टमा होमवर्क गरौं भन्दा इगोको रुपमा लिनुभयो – अनमोल केसी

२०७६, २५ फाल्गुन आईतवार १९:१५ मा प्रकाशित ( ४ साल अघि) ४१९४४ पाठक संख्या

चलचित्र ‘धुपौरे’मा काम गर्ने भन्दै सम्झौता गर्दा लिएको ५ लाख फिर्ता नगरेको भन्दै केही दिन अगाडि निर्माताद्वय जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गरेका थिए ।

‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त अनमोलले यस विषयमा आफ्नो फेसबुक स्टाटस मार्फत उक्त विषयमा स्पष्टिकरण दिएका छन् । उनले आफूलाई ठगीको आरोप लागेकोमा स्तव्ध भएको लेखेका छन् । उनले त्यहाँ चलचित्रको स्कृप्ट चित्त बुझ्दो नभएका कारण आफूले चलचित्र छोडेको र त्यहीँ समय पैसा फिर्ता गर्न खोज्दा उहाँहरुले नलिएको अनमोलले लेखेका छन् ।

उनले लेखेका छन्, ‘यहाँहरु सबैलाई अवगतै छ कि, मैले चलचित्र साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रिप्टलाई प्राथमिकता दिने गरेको छु । ‘धुपौरो’ साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरेँ । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र ?’’

अनमोलको स्टाटस जस्ताको त्यस्तै :

म अनमोल केसी । म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवं सञ्चारकर्मी मित्रहरु । म चलचित्र ‘ए मेरो हजुर ४’ सुटिङको सिलसिलमा व्यस्त भई काठमाण्डौ बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनें र स्तब्ध भएको छु । यो कुराको स्पष्टिकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें तर म अहिले सुटिङ्गको क्रममा काठमाण्डौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु ।

करीब ३,४ महिना पहिला ‘धुपौरो’ नामक सिनेमाको साइन गरेको थिएँ । फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु. ५ लाख दिनु भएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । ‘धुपौरो’ साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र ?

तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् । यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु । अहिले पनि उहाँहरुले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ ।

मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रीप्ट नपढी किन फिल्म साइन गरेको त ? मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै वहाँहरुसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु ।

खबर एक्सप्रेस