गत सोमबार त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली यसै साता आफ्नो सरकारी निवास फर्किदैछन् ।
एमसीसी सम्झौता संशोधन गर्ने र वामदेव गौतमलाई राष्ट्रिय सभाको मनोनीत कोटामा लैजाने सचिवालयको निर्णयमा ओली लगभग एक्लै परेका थिए ।अब प्रधानमन्त्री स्वास्थ्यलाभ गरेर फर्किएपछि ओलीको निशानामा को को पर्ने हुन् ? नेकपाभित्र अहिलेदेखी हिसाबकिताब सुरु भएको छ ।
समाचारस्रोतका अनुसार सबैभन्दा ठूलो धोका प्रचण्डबाट पाएको कुरा ओलीले स्वयमले आकलन गरिसकेका छन् । वामदेव प्रकरणपछि ओलीले आफ्ना निकटस्थहरुसँग टिप्पणी गर्दै भनेका थिए आँपको रुखमा आँपको हाँगो कलमी गर्न किन नहुने ? भनेर प्रचण्डलाई पार्टीमा मिसायौं, तर ऐंजेरु पो परेछ ।
स्रोतका अब त्यो ऐंजेरुलाई काटेर फाल्ने अभियानमा प्रधानमन्त्री ओली लाग्ने छन् । वामदेव गौतम, केशव स्थापितलगायतको टोली प्रचण्डसँग एकदम नजिक छन् भने माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु दोधारमा छन्। यता प्रचण्डसँगै समाहित भएका तत्कालीन माओवादीका करिब २५ प्रतिशत नेता तथा कार्यकर्ता प्रधानमन्त्री ओलीसँग नियमित सम्पर्कमा भएको पनी समाचार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार तत्कालीन माओवादीबाट प्रत्यक्ष निर्वाचित ३६ सांसदमध्ये प्रचण्डसँग २५ जना छन् । समानुपातिक १७ जनामध्ये प्रचण्डसँग १४ जना छन् । तर ४० प्रतिशत पुर्याउँनलाई कम्तीमा ६६ सांसद चाहिन्छ । वामदेव गौतम समूहले कति सांसद जुटाइदिने हो ? टुंगो छैन । झलनाथले अन्तिम अवस्थामा प्रचण्डको साथ छाड्ने बुझिएको छ ।
माधवकुमार नेपाल भने आफूले अध्यक्ष तथा प्रधानमन्त्रीमध्ये एक पद पाउने भए मात्रै प्रचण्डको साथमा लाग्ने तयारी गरेको बुझिएको छ । माधव नेपालले साथ दिएको अवस्थामा ४० प्रतिशत मात्रै होइन प्रचण्डको बहुमत नै पुग्न सक्छ, स्रोतको दाबी छ । यो अवस्थामा ओली धरापमा पर्छन् ।
तर प्रचण्डलाई प्रधानमन्त्री र अध्यक्ष बनाएर आफू कार्यकर्ताका रुपमा रहन माधव नेपाल तयार छैनन् । यता ओलीले आफू पछि स्थान दिने भन्दै माधव नेपाल कहाँ विशेषदूतहरु पटाएका थिए ।
ओलीको स्वास्थ्य अवस्थाको संकट टरे पनि राजनीतिक संकट भने टरिसकेको छैन । विगतमा धेरै नै पेलिएका कारण माधव नेपाल पक्ष ओलीसँग सजिलै सकारात्मक हुने अवस्था छैन । यो कुरा बुझेका प्रधानमन्त्री ओलीले अब आफ्नो रणनीतिको दोस्रो फर्मुला प्रयोग गर्ने समाचार स्रोतले जनाएको छ ।दोस्रो फर्मुलाअन्तर्गत ओलीले अब आफ्ना विश्वासपात्रलाई पदभन्दा पैसाको जोहो गरिदिने र प्रचण्ड तथा माधव नेपाल पक्षमा रहेकालाई मन्त्री तथा अन्य राजनीतिक पद दिएर आफूतिर आकर्षित गर्दैछन् । साथै प्रचण्डविरुद्ध आर्थिक नाकाबन्दी लगाउने तयारी ओलीको छ ।
प्रचण्डले कुन कुन व्यापारीहरुलाई पैसा लगानी गरेका छन् ? भन्ने सबै लिस्ट उनी निकटस्थ निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा र अर्थमन्त्री युवराज खतिवडाले दुई महिना पहिले नै तयार गरिसकेका थिए ।
अब यो लिस्टमा रहेकाहरुलाई अनेक झमेला लगाइदिने रणनीतिमा ओली पक्ष जुटिसकेको छ । साथै मेलम्ची खानेपानी आयोजना प्रकरणमा प्रचण्डकी बुहारीसमेत रहेकी मन्त्री विना मगरले २५ करोड रुपैयाँ घुस मागेको अडियो आफूसँग सुरक्षित भएको तत्कालीन सचिव गजेन्द्र ठाकुरले सार्वजनिक गरेका थिए । ठाकुरलाई राजदूत बनाउने आश्वासन दिएर उक्त रेकर्ड प्रधानमन्त्री ओलीको टिमले आफ्नो खल्तीमा ल्याइसकेको बुझिएको छ ।
आजको तरुण साप्ताहिकबाट