आज:  | Thu, 28, Mar, 2024

अमेरिकी नागरिक मिसेललाई देश फर्कन निर्देशन

२०७६, २८ फाल्गुन बुधबार २१:२१ मा प्रकाशित ( ४ साल अघि) ११९०५ पाठक संख्या

बिजनेश भिसामा पोखरा बसेर ‘गैरकानुनी’ चन्दा उठाइरहेकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा विल्सलाई अध्यागमन विभागले आफ्नो देश फर्कन निर्देशन दिएको छ। उनको भिसाको म्याद अब केही साता मात्र बाँकी छ अब उनको भिसाको म्याद नथपिने र स्वदेश फर्कने तयारीका लागि केही समय दिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। महानिर्देशक पौडेलले बिजनेश भिसामा बस्ने विदेशीले चन्दा उठाएर कम्पनी खोल्न र समाजसेवा गर्न नपाउने बताए।

मिसेलले पोखरामा ‘लर्निङ हाउस’ नामक कम्पनी खोलेकी थिइन्। उनले यो कम्पनी खोल्न विश्वव्यापी रूपमै चन्दा संकलन गर्न प्रयोग गरिने वेबसाइट ‘इन्डिगोगो’ मार्फत् १२ हजार अमेरिकी डलर चन्दा आह्वान गरेकी थिइन्। उक्त वेवसाइटले भने १४ हजार १ सय ७६ अमेरिकी डलर संकलन गरेको उल्लेख गरेको छ।

कम्पनी खोल्न मात्र होइन, उनले पोखरामा बसेर उक्त कम्पनीले गर्ने काममा पनि यसरी नै चन्दा उठाउने गरेकी छन्। मिसेलले आफ्नो व्यक्तिगत वेबसाइटमा हालसम्म ७ लाख अमेरिकी डलर चन्दा संकलन गरेको उल्लेख गरेकी छन्। यो रकम कहाँ र कसरी खर्च भयो भन्ने खुलाइएको छैन।

खबर एक्सप्रेस