आज:  | Sat, 20, Apr, 2024

यात्रु ओसार्न नछाेडे टुटल र पठाओमाथि कारबाही हुने

२०७६, २९ फाल्गुन बिहीबार ०९:४१ मा प्रकाशित ( ४ साल अघि) १२७११ पाठक संख्या

मोबाइल एपमार्फत भाडामा यात्रु बोक्दै आएका राइड सेयरिङ टुटल र पठाओले अब यात्रु ओसारपसार गरे कारबाहीमा पर्ने देखिएको छ ।

सरकारले पुनः तेस्रोपटक राइड सेयरिङलाई लक्षित गरेर सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै टुटल र पठाओको नाम उल्लेख नगरी तिनीहरूले दिँदै आएको राइड सेयरिङ सेवामाथि रोक लगाएको हो ।

सूचनामा विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई विभिन्न माध्यमबाट आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था विपरीत भएको जनाएको छ । विभागले त्यसो गरेको पाइएमा सोही ऐनबमोजिम कारबाही गरिने र सो सम्बन्धमा विभाग मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यस्ता समस्यालाई चाँडो कानुनी दायराभित्र ल्याएर हल गर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले नीतिगत रूपमा सुधार गर्नुपर्ने के के विषय हुन्, त्यसलाई सुधार गरेर जानुपर्ने बताए । यो खबर आजको राजधानी दैनिकमा छ ।

खबर एक्सप्रेस