आज:  | Sat, 13, Apr, 2024

दर्शकसँग क्षमा माग्दै प्रेमगीत–३ को रिलिज स्थगित

२०७६, ७ चैत्र शुक्रबार २२:१६ मा प्रकाशित ( ४ साल अघि) ७८८९६ पाठक संख्या

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण फिल्म ‘प्रेमगीत–३’को रिलिज स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारको निर्णय बमोजिम ‘प्रेमगीत–३’को रिलिज तत्कालका लागि स्थगित गरिएको निर्माता सेनले जानकारी दिनुभयो ।
यस अगाडि यो फिल्म नयाँ वर्षको अवसरमा यही चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिज गर्ने तयारी थियो ।
निर्माता सेनले भन्नुभयो विभिन्न अवरोधलाई चुनौती र अवसरका रुपमा लिएर हाम्रो टिमले चैत २८ गतेबाट आम दर्शकमाझ ल्याउने गरी एउटा अविष्मरणीय निषेधित प्रेमकथालाई ठूलो क्यानभासमा तयार गरेका थियौं तर कोरोनाको संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिरहेको समयमा नेपाल सरकारको निर्णय बमोजिम हाललाई आमदर्शक माझ क्षमा माग्दै अर्को निर्णय नभएसम्मका लागि प्रेमगीत–३ को रिलिज स्थगित गरेकाछौं।
‘छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको चलचित्र‘प्रेम गीत३’ मा अहिलेका चल्तीका अभिनेता युवा स्टार प्रदीप खड्काको जोडीमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ छिन।
फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने फिल्ममा नवनायक मनिष राउतका साथै शिव श्रेष्ठ,सुनिल थापा,सन्तोष सेन,माओत्से गुरुङ,लक्ष्मी बर्देवा,जीवन भट्टराई,जीवन बराल,अनुभव रेग्मी,योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, प्रेम पुरी,सुजल बस्नेत लगायतले अभिनय गरेका छन् ।

चक्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान शाह र ओएसआर डिजिटलको सह-निर्माताको रुपमा सहकार्य रहेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

फिल्म ‘प्रेमगीत–३’ हालको परिस्थिती सामान्य भएसँगै छिट्टै रिलिज मिति तय गरी विश्वभर एकसाथ प्रदर्सनमा आउने भएको छ ।

खबर एक्सप्रेस