आज:  | Fri, 22, Mar, 2024

कोरोनाबाट यूकेमा अर्का एक नेपालीको मृत्यु

२०७६, १३ चैत्र बिहीबार १९:१५ मा प्रकाशित ( ३ साल अघि) १४५४० पाठक संख्या

लण्डनमा फेरि अर्का एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई केही दिनदेखि सामान्य ज्वरो र खोकी लगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो । स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको कोरोना संक्रमणका कारण निधन भएको हो । अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले बताएको छ। अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको थियो ।

कोरोना संक्रमणको आशंकाका कारण अस्पतालमै गएर भेट्दा अरुलाई पनि सर्ने जोखिम हुने भएर अस्पतालले लाइभ भिडियो देखाइदिएको थियो । मृतकको परिवार पनि अहिले घरमै आइसोलेसनमै रहेका कारण उनीहरुलाई आफन्त र साथीभाइले समेत भेट्न पाएका छैनन् भने अर्यालको अन्तिम संस्कारमा समेत परिवारलाई सहभागी गराउने वा नगराउने विषय प्रष्ट नभएको बताईएको छ ।

यसअघि गतसाता मात्रै लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। 

खबर एक्सप्रेस