कोरोनाभाइरस (कोभिड-१९) को सङ्क्रमण कर्णाली प्रदेशमा भने अहिलेसम्म एकजनामा पनी देखिएको छैन । हाल १७ जनाको स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा पठाइएकोमा पठाईएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ। अब पाँचजनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश अस्पतालले सुर्खेतले जनाएको छ ।
विभिन्न देशबाट आएका व्यक्तिको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको थियो। अहिलेसम्म कर्णाली प्रदेशमा सुर्खेतमा १८६, कालीकोटमा ५१, डोल्पामा ८५ र जुम्लामा ३९ जना क्वारेन्टाइनमा छन् ।
कर्णाली प्रदेशमा हालसम्म झन्डै ३०० वटा आइसोलेशन शैया तयार गरिएको छ । अहिलेसम्म प्रदेश अस्पताल सुर्खेतमा ५०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२०, दैलेख जिल्ला अस्पतालमा ३०, सल्यान जिल्ला अस्पतालमा २२, रुकुममा पाँच, डोल्पामा आठ, मुगु र कालीकोटमा सात/सात, हुम्लामा तीन र जाजरकोटमा छ बेडमा आइसोलेशन शैया तयारी अवस्थामा राखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावलले बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथामका लागि स्थापना गरिएको हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीलाई शुरु तलबको ५० प्रतिशत र स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।