आज:  | Fri, 24, Mar, 2023

आजबाट सुर्खेतमा पनी कोभिड–१९ को परीक्षण शुरू

२०७६, २० चैत्र बिहीबार २३:३८ मा प्रकाशित ( २ साल अघि) १२०६० पाठक संख्या

सुर्खेत, २० चैत – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि वीरेन्द्रनगरको कालागाउँमा रहेको प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला आजदेखि सञ्चालनमा आउने भएको हो ।

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले कर्णालीका सबै जिल्लाबाट कोरोना आशङ्कित बिरामीको नमूना सङ्कलन गरी यहाँबाटै परीक्षण गरिने बताउनुभयो । “मेसिन जडान, प्रयोगशाला स्थापनालगायतका सबै तयारी पूरा गरिसकेका छौँ, आजदेखि थ्रोट स्वाबको परीक्षण शुरु हुँदैछ”, उहाँले भन्नुभयो, “प्रयोगशालामा खटिने कर्मचारीलाई आवश्यक तालिम दिने काम पनि भइरहेको छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णालीका लागि कोभिड–१९ को परीक्षण गर्ने आरटीपिसीआर मेसिनसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा रामकृष्ण श्रेष्ठलाई विशेषज्ञका रुपमा खटाएको छ । विशेषज्ञ डा श्रेष्ठले एक साता सुर्खेतमै रहेर चिकित्सक तथा ल्याब कर्मचारीलाई आवश्यक परामर्श दिनुहुनेछ । उहाँले एक दिनमा १० जतिको परीक्षण गर्न सकिने र एक घण्टाको अवधिमा एउटा नमूनाको नतिजा बाहिर आउने बताउनुभयो । यसका लागि स्वास्थ्य मन्त्रालयले कर्णालीमा एक हजार किट पठाइसकेको छ । यसअघि कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो ।

खबर एक्सप्रेस