लकडाउनको बेला बझाङमा मेला सञ्चालन गरेको आरोपमा चार जना जनप्रतिनिधिसहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न तीन सातादेखि देश लकडाउन छ। तर चैत्र २४ गते भने लकडाउनकै बेला बझाङको छविसपाथिभेरा गाँउपालिका–३ मा ‘बान्नीकी चैतली’ मेला सञ्चालन भएको थियो।
मेला आयोजना गरेर लकडाउन उल्लंघन गरेको आरोपमा छविसपाथिभेरा गाउँपालिकाका चार जना वडाध्यक्ष, मन्दिरका पुजारी तथा उनका सहयोगी गरी नौ जनालाई बुधवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डीएसपी गणेश बहादुर बमले जानकारी दिए।
बमका अनुसार लकडाउनको उल्लंघन गर्दै मेला आयोजना गरिएको थियो त्यसैको अनुसन्धानका लागि जनप्रतिनिधिसहित नौ जनालाई नियन्त्रणमा लिएका छौँ ।
पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका–२ का वडाअध्यक्ष विकास ऐडी, ३ का वडाअध्यक्ष केशवराज जोशी, ४ का वडाअध्यक्ष अम्मरराज थापा र वडा नं. ५ का वडाअध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना रहेका छन्।
यस्तै, बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुई सहयोगी फसलपाते पण्डित डम्बर बहादुर धामी र पूजारी जयकृष्ण जोशीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको डीएसपी बमले बताए। अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बझाङ पु-याइएको छ।
कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै मुलुक लकडाउनमा छ। कुनै कार्यक्रम गर्न, सभा सम्मेलन, अनाआबश्यक भिडभाड गर्नमा रोक लगाउनुका साथै अत्वाश्यक काम बाहेक घर बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ।
तर यस्तो अवस्थामा बझाङमा भने मेला आयोजना गरिएको थियो। सदरमुकामबाट मेला आयोजनास्थलसम्म पुग्न तीन घण्टा लाग्ने छबिसपाथिभेरा गाँउपालिका– को बान्नीचौरमा हजारौं मानिसको सहभागितामा चैतली मेला सम्पन्न भएको थियो। प्रत्येक वर्षको चैत शुक्ल त्रयोदशीका दिन मनाइने बान्नीको चैतली मेला यो वर्ष चैत २४ गते परेको थियो।