आज:  | Mon, 15, Apr, 2024

आफ्नै निर्णयबाट पछि हट्यो सरकार काठमाडौं बाहिर जान नपाइने

२०७६, २७ चैत्र बिहीबार १८:२० मा प्रकाशित ( ४ साल अघि) १८८४९ पाठक संख्या

लकडाउनका कारण राजधानी बाहिरको आफ्नो घर जान नपाएकाहरुलाई सम्बन्धित स्थानमा पुर्याइदिने आफ्नै निर्णयबाट सरकार पछि हटेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णयबाट सरकार पछि हटेको हो ।
यो निर्णय कार्यान्वयन गर्दा झन् जोखिम बढ्ने विश्लेषणपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि यो निर्णय स्थगित गरेको हो ।

यसअघि उच्चस्तरीय समन्वय समितिले उपत्यका बाहिर जान चाहनेहरुलाई सरकारले नै यातायातको साधन उपलब्ध गराउने निर्णय बिहीबार दिउँसो बसेको बैठकले गरेको थियो । उपत्यका बाहिर जाने सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ गर्ने निर्णयपनि भएको थियो ।

सरकारले व्यवस्था गर्ने सवारी साधनहरु भोलि र पर्सी उपलब्ध हुने, उपत्यका बाहिर जाने व्यवस्था सरकारले गर्ने भए पनि उपत्यका फर्कन नपाइने निर्णय पनि समन्वय समितिले गरेको थियो ।

काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाएका थिए । सरकार सम्बद्ध उच्च स्रोतको जानकारी अनुसार काठमाडौंमा अलपत्र नागरिकलाई बाहिर जाने दिने पहिले नै सहमति भएपनि आन्तरिकरुपमा नै मतभेद भएपछि सरकार पछि हटेको हो ।

खबर एक्सप्रेस