बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा आज सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ ।
बिहीबार स्क्रीनिङको क्रममा आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका छ्न तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडामा परीक्षण गरिएको तीनवटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो।
स्वास्थ्य मन्त्रालयले यो नतिजा सार्वजनिक गर्ने तयारी गरिहरेको बताएको छ भने कोरोना पोजेटिभको सुचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछि उनीहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।