आज:  | Fri, 24, Mar, 2023

इन्टरनेट सेवाहरु लकडाउन अवधिभर नकाटिने

२०७७, ५ बैशाख शुक्रबार १७:२० मा प्रकाशित ( २ साल अघि) १२७७३ पाठक संख्या

 

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभर महशुल भुक्तानी नभए पनि सेवा बन्द नगर्न निर्देशन दिएसँगै ती सेवा प्रदायकहरुले इन्टरनेट सेवा बन्द गर्न नपाउने भएका हुन् । प्राधिकरणले हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नुपर्ने बताउँदै केही सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी गर्न नसकेको कारण आफ्नो सेवा अवरुद्ध गरेको गुनासो प्राप्त भएकोले यस्तो निर्देशन जारी गर्नुपरेको जनाएको छ ।

एनटीएले ती सेवा प्रदायकहरुलाई सम्भव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न भनेको छ । तर अनलाइन माध्यमबाट भुक्तानी गर्ने व्यवस्था भए पनि भुक्तानी गर्न असमर्थ भएका ग्राहकहरुको हकमा इन्टरनेट सेवा लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने व्यवस्था गर्न समेत प्राधिकरणले भनेको हो ।लकडाउनपछि त्यस्तो शुल्क भुक्तानी गर्दा कुनै विलम्ब शुल्क लिन नपाइने समेत प्राधिकरणको निर्देशनमा उल्लेख गरिएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले लकडाउनको अवधिमा इन्टरनेटबाटै कार्य सञ्चालन गर्नुपर्ने र इन्टरनेटकै आधारमा दिन कटाउनुपर्ने अवस्थामा इन्टरनेट काटिँदा र विभिन्न कारणले त्यसको भुक्तानी हुन नसक्दाको अवस्थामा हुन आउने समस्यालाई मध्यनजर गर्दै यस्तो निर्देशन जारी गरिएको बताए ।

तर एता भने यस्तो समयमा शुल्क नउठ्दा भारतबाट इन्टरनेट खरिद गरेर ल्याएको शुल्क तिर्न समस्या भएको गुनासोहरु सेवा प्रदायकहरुले गर्दै आएका छन् ।

खबर एक्सप्रेस