बाँके, वैशाख ५ गते,
बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको प्रयोगशालामा शनिबार रियल टाइम पोलिमर चेन रिएक्सन (आरटिपिसिआर) उपकरण जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुआत भएको भेरी अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिएका छन् ।
आरटिपिसिआर उपकरण जडान तथा परीक्षणका लागि काठमाडौबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली ‘रिएजेन्ट केमिकल लिएर शुक्रबार नेपालगञ्ज आएको थियो । रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगञ्जमा अभाव भएपछि काठमाडौबाट मगाइएको हो । बाँके र बर्दियाका जनताको कोरोना सङ्क्रमण परिक्षणका लागि लक्षित गरी सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला सञ्चालन भएपछि अब स्वाब नमूना परीक्षणका लागि भैरहवा अथवा काठमाडौं पठाउनु पर्ने बाध्यता हटेको छ । सो उपकरणबाट एकदिनमा १०० जनाको नमूना परीक्षण गर्न सकिने डा. थापाको भनाई छ ।