आज:  | Mon, 04, Mar, 2024

कान्सु प्रान्तद्वारा नेपालका दुई प्रदेशलाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७७, २० बैशाख शनिबार १५:४१ मा प्रकाशित ( ३ साल अघि) १५३१५ पाठक संख्या

कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न चीनको कान्सु प्रान्त सरकारले नेपालको वागमती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आयोजित कार्यक्रममा कान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्ग होङ्गले पर्यटनमन्त्री योगेश भट्टराईको रोहबरमा सचिव केदारबाबु अधिकारीलाई २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गरेको हो।

मन्त्री भट्टराईले कोरोनाविरुद्धको लडाइँमा प्राप्त स्वास्थ्य सामग्रीले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । सहयोगले नेपाल-चीनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई पनि प्रगाढ बनाउने उनले बताए। मन्त्रालयका सचिव अधिकारीले चीन सरकारका विभिन्न तहबाट नेपाललाई प्राप्त सहयोग प्रति आभार व्यक्त गरे। 

कान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकताअनुसार थप सहयाग गर्दै जाने आश्वासन दिए। नेपाललाई महामारीबाट हुनसक्ने धनजनको क्षतिबाट बचाउन थप सामग्री चाहिए सहयोग गर्न तयार रहेको उनले भने ।

खबर एक्सप्रेस