आज:  | Mon, 15, Apr, 2024

सङ्घीय संसद्को छैटौँ अधिवेशन (बजेट अधिवेशन) शुरु हुँदै

२०७७, २६ बैशाख शुक्रबार १६:०८ मा प्रकाशित ( ३ साल अघि) २५६३८ पाठक संख्या

काठमाण्डौं बैशाख २६ गते
सङ्घीय संसद्को छैटौँ अधिवेशन (बजेट अधिवेशन) आजदेखि शुरु हुँदैछ । आज अपराह्न ४ बजेदखि सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ ।
अधिवेशनको लागी सबै तयारी पूरा भएको छ । यो अधिवेशनबाट सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राखी सोही किसिमको सम्पूर्ण तयारी पूरा भइसकेको छ सांसदहरुको कुर्चीको दुरी दायाँ र बायाँ एक मिटर ५० सेन्टिमिटर कायम गरिएको र अगाडि र पछाडि पनि १ मिटर ३० सेन्टिमिटर कायम गरिएको छ भने मास्क अनिवार्य लगाउनुपर्ने, संसद भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने लगायतका उपाय अपनाइएको छ । भने सांसद र कर्मचारी र सुरक्षाकर्मीको स्वाब परीक्षण गरेर मात्र भित्र प्रबेश गर्ने बिधि अपनाईएको छ ।
आजको बैठकमा छैटौँ अधिवेशन प्रारम्भ सम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिने लगायतका कार्यसूची तय गरिएको छ ।
आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६र७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ । यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान भएको थियो ।

खबर एक्सप्रेस