आज:  | Thu, 22, Feb, 2024

सुदुरपस्चिमका क्वारेन्टाइनमा २ जनाको मृत्यु

२०७७, २५ जेष्ठ आईतवार ११:०० मा प्रकाशित ( ३ साल अघि) १०४४८ पाठक संख्या

काठमाडौ, जेष्ठ २५ गते ।

डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । भारतको लुधियानाबाट १९ गते डोटी आएर २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका १९ वर्षीय युवकको मुत्यु भएको हो । आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको हो । उक्त क्वारेन्टिनमा तीन महिला सहित १० जना छन् ।मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको र स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो। त्यस्तै बैतडी जिल्लाको एक क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका वडा नं ६ कै ३१ बर्षीय पुरुषको शनिबार मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले बताए । 

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । ज्यान गुमाएका पुरुष शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आएर क्वारेन्टिनमा बसेका थिए । उनीसंगै बेंगलोरबाट अरु १३ जना पनि आज बिहानै पाटन पुगेका बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसीरहेका छन् ।

खबर एक्सप्रेस