आज:  | Thu, 22, Feb, 2024

१० अर्ब कहाँ खर्च भयो ? यसको हिसाब चाहियो :गगन थापा

२०७७, २७ जेष्ठ मंगलवार २१:४५ मा प्रकाशित ( ३ साल अघि) ११२२३ पाठक संख्या

काठमाडौ, जेष्ठ २७गते ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले अब यो सरकारबाट कोरोना नियन्त्रण हुन नसक्ने ठोकुवा गरे । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सरकारसँग कोरोना महामारी नियन्त्रणमा खर्च भएको रकमको हिसाब मागेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले कोरोनाको महामारी रोक्न सरकारले खर्च गरेको १० अर्बको एकएक  रुपैयाँको हिसाब खोज्ने बताएका छन् ।

१० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको हिसाब चाहिन्छ,’ थापाले भने ५ वटा पीसीआर मेसिन, २५ हजार कीट किनेर १० अर्ब रुपैयाँ हिसाब देखाउनु पर्दैन ? हामीलाई एकएक रुपैयाँको हिसाब चाहिन्छ ।

सांसद थापाले राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा चुर्लुम्ब डुबेर लिप्त हुनु भनेको निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । प्रधानमन्त्रीले क्वारेन्टाइनमा १ लाख ६६ हजार मान्छे बस्न सक्छन् भनेको उल्लेख गर्दै उनले भने क्वारेन्टाइनमा १ लाख ६६ हजार बस्छन् भनेर प्रधानमन्त्रीले भन्दै गर्दा त्यो क्वारेन्टाइनमा नभएर मान्छे मार्ने कन्सेन्ट्रेसन क्याम्प हो भनेका छन् ।

कोरोना संक्रमित बढ्दै जाँदा परीक्षणको दायरा झन् कम भएको भन्दै सांसद थापाले असन्तुष्टि जनाएका छन् । सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन नै रोकिएको, २ नम्बर प्रदेशका हजारौंको स्वाब संकलन गरे पनि रिपोर्ट नआइपुगेको भन्दै नेता थापाले परीक्षणको दायरा बढाउन र शीघ्र रिपोर्ट दिन माग गरेका छन् ।

अदालत, संसद र विज्ञले पीसीआर परीक्षणको दायरा बढाऊ भने पनि सुदूरपश्चिममा स्वाब संकलन रोकिएको छ, प्रदेश २ का दशौं हजार मानिसहरूको रिपोर्ट नआएर छटपटाइरहेका बेला सरकारले परीक्षणको दायरा साँघुरो बनाउँदैछ,’ उनले भने, अब क्वारेन्टाइनमा बसेका मानिसको पीसीआर परीक्षण नगर्ने रे ? मरेको मान्छेको स्वाब संकलन नगर्ने रे ! अब संक्रमित मानिसलाई १४ दिन क्वारेन्टाइन राखेपछि घर पठाउने बेलामा पनि परीक्षण नगर्ने निर्णय कसको हो त्यसको पनि जबाफ मागेका छन् ।

सांसद थापाले परीक्षणको दायरा साँघुरो बनाउनुभन्दा परीक्षण नै बन्द गरे १ जना पनि संक्रमित नदेखिने भन्दै ओली सरकारमाथि व्यंग्य गरेका छन् । ‘सरकारले यसो गरे हुन्छ, परीक्षण नै बन्द गर्दिने अनि नेपाललाई कोरोनामुक्त देश घोषणा गरेहुन्छ भन्दै व्यंग्य गर्दै यसको जिम्मा कसले लिने हो ?भन्दै प्रश्न गरे ।

खबर एक्सप्रेस